इलामलाई हराउँदै झापा सेमिफाइनलमा

इलाम । भाङबारी स्पोर्टिङ क्लब झापा इलामको माङसेबुङमा जारी १२औँ संस्करणको आत्मानन्द कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बिहीबार भएको खेलमा इलाम नगर खेलकुद प्रतिष्ठान इलामविरुद्ध १–० को कष्टपूर्ण जित निकाल्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

जितका लागि झापाका सनम भुजेलले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । वान भर्सेस वानको पोजिसनलाई सदुपयोग गर्दै भुजेलले जाली चुमाएका थिए । खेलको म्यान आफ दी म्याच विजेता झापाका समन भुजेल घोषित भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार राजाबास युथक्लब सुनसरी र एएससी अर्जुनधारा झापाबीच खेल हुनेछ ।  किराँत धर्मगुरु आत्मानन्द लिङदेनको ६६औँ जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किराँत धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औँ शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चातयक्चुमको आयोजनामा हुने उक्तप्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङ्देनको जन्मोत्सवमा वर्सेनि माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया