प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सप्तरी प्रथम

रौतहट । चन्द्रपुरमा आयोजना भएको प्रदेश २ स्तरीय टि—२० क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीले जितेको छ । बिहीबार भएको फाईनल खेलमा सप्तरीले सर्लाहीलाई ४७ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो ।  रौतहटको चन्द्रपुरमा आयोजित स्वर्गीय सन्तदास कार्की ( दासबाबु ) तथा स्वर्गीय रामकुमार कोईराला स्मृति प्रदेश नम्बर– २ स्तरीय टी– २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि उचालेको हो । टस हारेर व्याटिङको निम्ता पाएको सप्तरीले २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको थियो ।

सप्तरीलाई जित दिलाउन आशिष झाले ३५ बलमा ३४ रन, कप्तान मेहबुब आलमले २४ बलमा २४ रन र विकास दासले २४ बलमा नट आउट रहँदै २८ रनको योगदान गरेका थिए ।  जवाफी व्याटिङमा उत्रिएको सर्लाहीको टिमले खराबी सुरुआत गरेको थियो । सर्लाहीले १९ ओभर खेल्दै १० विकेटको क्षतिमा ८० रन मात्र बनाउन सफल भएको थियो ।

सुरुबाटनै दबाबमा देखिएको सर्लाहीका लागि राजेश पुलामी मगरले ३१ बलमा २१ रन, सम्साद आलमले १० बलमा ७ रनको योगदान गरेका थिए । बाँकी खेलाडीले दोहोरो अंक बनाउन नसक्दा र निरन्तर विकेट गुमाउँदा सर्लाही विशाल रन अन्तरले पराजित हुन पुगेको थियो । सप्तरीका बलर मेहबुब आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए भने उपेन्द्र योयले ३ विकेट र बाँकी ३ विकेट रन आउटकारूपमा खसेको थियो ।

प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान सप्तरीका विवेक यादव बन्न सफल भए भने उत्कृष्ट बलर सप्तरीका कप्तान मेहबुब आलम, उत्कृष्ट फिल्डर सर्लाहीका सन्दिप खड्का र प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी सप्तरीका कप्तान मेहबुब आलम बन्न सफल भए ।  प्रतियोगितामा प्रथम भएको सप्तरीले नगद १ लाख रुपैयाँ,दोस्रो टिम सर्लाहीले ५० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र कप वितरण गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक देवराज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया