सावित्रासहित ७ खेलाडीलाई प्रतिभा पुरस्कार

काठमाडौं । विभिन्न खेलका ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष यो पुरस्कार दिँदै आएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई पुरस्कृत गरे ।

यसरी पुरस्कृत हुनेमा कराँतेका दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता अनु अधिकारी र विकबहादुर थामी छन् । त्यस्तै राष्ट्रिय फुटबल टोलीकी सावित्रा भण्डारी, राष्ट्रिय क्रिकेटका करण केसी, शारीरिक सुगठनकी रजनी श्रेष्ठ, तेक्वान्दोका भुवन सार्की र पारा क्रिकेटका हिमाल अर्याल छन् ।

५ खेलाडीले समान एक लाख रुपैयाँ प्राप्त गरे । पुरस्कार छनोट समितिले दिएको अंकका आधारमा बराबर अंक प्राप्त गरेको भन्दै अनु र विकलाई समान ५० हजार रुपैयाँ प्रदान गरिएको मन्त्रालयले जनाएको छ । प्रशिक्षकबाट जगदीश भट्ट, निर्णायकबाट फिफा रेफ्री सुदीश पाण्डे र व्यवस्थापनतर्फ प्याराग्लाडिङका शैलेन्द्र राउत सम्मानित भए । भट्टको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो ।

पाण्डे एक दशकयता फिफा रेफ्रीका रूपमा कार्यरत छन् । राउत व्यवास्थापक रहेको प्याराग्लाडिङ टोलीले गत वर्ष इन्डोनेसियामा भएको १८ औँ एसियाली खेलकुदमा रजत पदक जितेको थियो । भट्ट, पाण्डे र राउतले पनि जनही एक लाख रुपैयाँ प्राप्त गरे ।

 

राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका संघहरू मध्येबाट यसपटक नेपाल ब्याडमिन्टन संघ सम्मानित भएको छ । संघका तर्फबाट अध्यक्ष रामजीबहादुर श्रेष्ठले सम्मान ग्रहण गरे । संघले एक लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया