म्युजिक खबरको ‘आठौँ म्युजिक अवार्ड’ मनोनयन सार्वजनिक

काठमाडौँ । म्युजिक खबर डटकमको ‘आठौँ म्युजिक अवार्ड मनोनयन’ सार्वजनिक भएको छ । बुधबार कमलादीस्थित प्रज्ञा भवनको एक सभाहलमा उक्त मनोनयन सार्वजनिक गरिएको हो । सो कार्यक्रममा उत्कृष्ट पाँच भित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको छ । शुभकामना मिडिया शोलुसन प्रालिको आयोजनामा भएको आठौँ प्रभु पे म्यूजिक खबर अवार्डमा गीतसंगीतका ४० विधामा पर्न सफल कलाकार र सिर्जनालाई उक्त प्रमाण पत्र प्रदान गरिएको थियो । मनोनयन प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने म्यूजिक खबरका निर्देशक मिलन मोक्तानको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एवं वरिष्ठ गीतकार एसपी. कोइराला, गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, त्रिभुवन विश्वविद्यालय ललितकला विभाग प्रमुख वरिष्ठ गायिका संगीतका राणा प्रधान, संगीत उद्योग संघ नेपालका अध्यक्ष सूर्य मगर, प्रभु पेको तर्फबाट नारायण ढकाल, म्यूजिक खबरका सल्लाहकार लेखक निर्देशक मोहन निरौला, संगीतकर्मी एवं व्यवसायी पृथ्वी थकाली, संगीतकर्मी आरसी कोइराला, संगीतकर्मी एवं व्यवसायी उज्वल जंग ठकुरी, अभिनेता विनोद श्रेष्ठ, आइआइएफटी स्कुल अफ फेसनका तेन्जिङ शेर्पा लगायतको उपस्थिति थियो । प्रमाणपत्र वितरण कार्यक्रममा निर्देशक शान्तिप्रियले अवार्डका बारेमा नकारात्मक टिप्पणी गर्नुभन्दा अवार्डलाई सबै मिलेर कसरी राम्रो गर्न सकिन्छ भन्नेतर्फ लाग्नु उत्तम रहने बताए ।

त्यस्तै शुभकामना दिँदै गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटाले म्यूजिक खबर एउटा गीतसंगीत क्षेत्रका ब्राण्ड नै बनिसकेको र यसको गरिमा नै उच्च भएको प्रसंसा गरे । ‘अवार्ड कार्यक्रमलाई निरन्तरता दिँदै आठौं वर्षमा म्युजिक खबरले प्रवेश गर्दा प्रभु पेसँगको सहकार्यले अझ यसको उचाइ बढेको छ, गीतसंगीत क्षेत्रमा दिनहुँ निर्माण हुन्छन्, उनीहरुलाई म्यूजिक खबरले लगानी गरेर महोत्सवका रुपमा प्रोत्साहन गर्दै आएको छ’, उनले भने । त्यस्तै त्रिभवुन विश्वविद्यालय ललितकला विभागकी प्रमुख एवं वरिष्ठ गायिका संगीता रानाले म्यूजिक खबरसँग जोडिएर गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका कलाकारलाई सम्मान र प्रोत्साहन गर्नु प्रशंसनीय कार्य भएको जिकिर गरिन् ।

वरिष्ठ गीतकार एसपी कोइरालाले म्यूजिक खबरले गरेको अवार्ड कार्यक्रमलाई नजिकबाट मूल्यांकन गरिरहेको जनाउँदै गीतसंगीतमा पत्रकारिताका माध्यम अथवा अवार्डकाले म्यूजिक खबरले महत्वपूर्ण योगदान दिएको विचार ब्यक्त गरे । ओन्ले अवार्डलाई मर्यादित बनाउन सबैको उत्तिकै दायित्व हुन पर्ने बताउँदै म्यूजिक खबरको अवार्डले कलाकारलाई अझै उर्जा थप्ने बताए । त्यसैगरी लेखक तथा निर्देशक मोहन निरौलाले म्यूजिक खबरसँग सुरुको वर्षदेखि नै हालसम्म सहकार्य गर्दै आउँदा म्यूजिक खबरले स्रष्टा कलाकारको हितमा महत्वपूर्ण कार्य गरेको बताए ।

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको प्रमाण पत्र प्रदान गर्ने कार्यक्रममा प्रभु पेको तर्फबाट बोल्दै नारायण ढकालले अबदेखि आगामी वर्षहरुमा पनि ‘प्रभु पे’ निरन्तर म्यूजिक खबरसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै म्युजिक खबरका अध्यक्ष सुमन पण्डितले अवार्डमा सहभागी भएको सम्पूर्ण कलाकार नै म्यूजिक खबर परिवार भएको बताए । उनले कलाकारहरुकै लागि अवार्ड आयोजना गरेको बताउँदै वर्षमा एक दिन मेला महोत्सवका रुपमा अवार्डलाई लिन अनुरोधसमेत गरे ।

म्यूजिक खबरले वर्षदिन भरि कलाकारकै पक्षमा वकालत गर्दै आएको छ भने एक दिन अवार्डका माध्यमले महोत्सव मनाउनका लागि उपयुक्त भएको बताए । कार्यक्रम संचालन सञ्चारकर्मी एवं गीतकार लोकराज अधिकारीले गरेका थिए । म्यूजिक खबर म्यूजिक अवार्ड यही मंसिर २० गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न हुने अध्यक्ष सुमन पण्डितले जानकारी दिए । उक्त अवार्ड वितरण कार्यक्रममा लामो समयसम्म गीतसंगीतमा क्रियासिल एक स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिने पनि उनले बताए । अवार्डमा वितरणमा निर्देशक मिलन मोक्तान, कार्यक्रम निर्देशक शान्तिप्रिय, कार्यक्रम संयोजक सविता पोखरेल र अध्यक्षमा सुमन पण्डित रहेका छन् । पत्रकार निराजन भण्डारी र गायिका मन्जु पौडेल अफिसियल एमसीका रुपमा रहने बताइएको छ ।

प्रतिक्रिया