भारतविरुद्ध फरक खेल प्रदर्शन गर्छौं : शाही

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतिद्वन्द्वीले कमजोर प्रदर्शन गर्दा खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बताएका छन् । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत समूहको पहिलो खेलमा बंगलादेशमाथि सोझो सेटमा नतिजा निकाले पनि प्रशिक्षक भट्टले अपेक्षाकृत खेल्न नसकेको बताए ।

‘प्रतिद्वन्द्वीले कमजोर खेल्दा खेलाडीले आफनो प्रदर्शन देखाउन सकेनन् । तर पनि नतिजा आफनो पक्षमा पारेका छौँ । कमजोर पक्ष सुधार्दै भोली भारतविरुद्ध आक्रमक खेल्नेछौँ’, प्रशिक्षक भट्टले भने ।  उनले बंगलादेश भलिबलमा नयाँ टिम रहेकाले राम्रो गर्न नसके पनि अरू टिम बलिया रहेको उल्लेख गरे । ‘हामीलाई घरेलु कोर्ट र समर्थकको फाइदा छ । चार महिनादेखि तयारी गरेका छौँ । यसभन्दाअघि भलिबलको नतिजा बिर्साउने गरी खेल्नेछौँ । हिजो के भयो नभई भोलि के गर्नेमा केन्द्रित हुनेछौँ,’ प्रशिक्षक भट्टले भने ।

कप्तान अरुणा शाहीले पहिलो खेल तथा प्रतिद्वन्द्वी कमजोर बन्दा खेलाडीले सोचेअनुसार खेल्न नसकेको बताइन् । केही खेलाडीले सर्भिस बिगारेको प्रश्न बारे कप्तान शाहीले पावर सर्भिस गर्न खोज्दा बिग्रेको बताइन् ।  बंगलादेशसँगको प्रदर्शनभन्दा बिहीबार भारतविरुद्ध फरक खेल प्रदर्शन गर्ने कप्तान अरुणाको दाबी छ ।

बंगलादेशका प्रशिक्षकले अनुभवी खेलाडी नहुँदा हार ब्यहोरेको बताए । उनले भने, ‘खेलाडीसँग अनुभव निकै कम छ । लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका हौँ । दुई महिनाको मात्र तयारी गरेका हौँ । अब बाँकी खेलमा राम्रो गर्ने कोसिसमा हुनेछौँ ।’ नेपालले बंगलादेशमाथि पहिलो र दोस्रो सेट समान २५–९ ले जितेको थियो भने तेस्रो सेट २५–११ ले जितेको हो ।

यसअघि केही साताअघि बंगलादेशमा भएको सेन्ट्रलजोन भलिबलमा नेपालले बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो ।
विजय सुरुआत गरेको नेपालले अब भोलि बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ । पराजित बंगलादेशले शुक्रबार भारतसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया