पुटिनलाई नेपाल भ्रमण गराउने प्रयास

एजेन्सी । अघिल्लो महिना चिनियाँ राष्ट्रपतिलाई काठमाडौंमा निम्त्याएको नेपालले अर्को शक्तिराष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण गराउने प्रयास अगाडि बढाएको छ ।  मस्कोमा रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभसँगको भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुटिनलाई पठाएको निम्तो हस्तान्तरण गरेका हुन् । संयुक्त राष्ट्र संगको सुरक्षा परिषद्को स्थायी सदस्य रहेको रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्री केपी ओलीले अलग्गै निम्तो गरेका छन् ।

ती निम्ताबारे प्रतिक्रिया दिँदै रुसी विदेशमन्त्री लाभ्रोभले पत्रकार सम्मेलनमा भनेका छन् ‘हामी यी आमन्त्रणहरूलाई रचनात्मक रूपमा विचार गर्नेछौँ । हामीले कूटनीतिक माध्यमहरूबाट भ्रमणको मिति तय गर्ने सहमति गरेका छौँ ।’  हालैका वर्षहरूमा आफ्ना दुई छिमेकीसहित अन्य देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई आफ्नो देशमा निम्त्याउन नेपालले कूटनीतिक पहलहरू अघि बढाएको छ । सत्तामा रहेको वामपन्थी सरकारको निम्तोमा २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले अघिल्लो महिना काठमाडांैको भ्रमण गरेका थिए ।

त्यसक्रममा नेपाल र बेइजिङबीच महत्वपूर्ण सम्झौताहरू भएका थिए । दुवै देशले द्विपक्षीय सम्बन्धलाई रणनीतिक तहमा लैजाने र नेपालमा रेललगायतका पूर्वाधार निर्माण अघि बढाउन सहमति गरेका थिए । सन् २०१८ मा नेपाल र अमेरिकाबीच वासिंगटन डिसीमा १७ वर्षपछि परराष्ट्रमन्त्रीको तहमा कुराकानी भएको थियो । त्यतिवेला आफ्नो इन्डो प्यासिफिक रणनीतिमा नेपालले महत्वपूर्ण स्थान ओगट्ने धारणा अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको थियो ।

कतिपयले लामो संक्र्रमणकालपछि स्थायी सरकार पाएको नेपालले हालैका वर्षमा आफ्नो कूटनीतिक प्रभाव देखाउन थालेको सूचकका रूपमा यस्ता भ्रमण र भेटघाटलाई अथ्र्याउने गरेका छन् । नेपालमा उच्चस्तरीय भ्रमणको शृंखला सन् २०१४ मा सुरु भएको थियो जतिवेला १७ वर्षको अन्तरालपछि भारतीय प्रधानमन्त्रीले काठमाडौं भ्रमण गरेका थिए ।

त्यसयता नाकाबन्दीसहितका कारणले नेपाल–भारत सम्बन्धमा तीव्र उतारचढाव देखिए पनि प्रधानमन्त्री नरेन्द्र मोदी तीनपटक नेपाल आइसकेका छन् । नेपालमा शक्तिराष्ट्रहरूको सामरिक प्रतिस्पर्धा बढिरहेको भन्ने टिप्पणीका माझ रुसी नेतृत्वलाई नेपाल भ्रमण गराउने तयारी सरकारले गरेको हो ।

ज्ञवालीसँगको भेटमा लाभ्रोभले के भने ?
परराष्ट्रमन्त्री ज्ञवालीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा लाभ्रोभले सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सम्झना गर्दै नेपाल रुसको दक्षिण एसियाकै पुरानो साझेदार भएको बताएका थिए । उनले ऊर्जा, सुरक्षा र पर्यटनका क्षेत्रमा नेपाल र रुसबीच थप सहकार्य हुन सक्ने बताए । सुरक्षा सहकार्यको सन्दर्भमा उनले नेपालको उच्च भौगोलिक क्षेत्रमा रुसी उड्ययन क्षेत्रको राम्रो अनुभव रहेको भन्दै रुसी एमआई १७ हेलिकप्टरहरू नेपालमा सञ्चालन भइरहेको उल्लेख गरेका थिए ।

नेपाली सेनाले सशस्त्र द्वन्द्वका वेला भएका फौजी कारबाहीदेखि विनाशकारी भूकम्प तथा बाढीजस्ता प्रकोपमा विपद् व्यवस्थापनका कामका लागि सो हेलिकोप्टरको प्रयोग गर्ने गरेको छ । उनले उड्ययन क्षेत्रमा थप सहकार्यको योजना रहेको पनि बताए । त्यसपछि उनले सैन्य क्षेत्रमा नेपाल–रुस सहकार्यको प्रसंग निकाले । उनले भने, ‘प्राविधिक सैन्य सहकार्यको पनि राम्रो सम्भावना रहेको छ । यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने हामीले निर्णय गरेका छौँ ।’ उक्त प्राविधिक सहकार्यको क्षेत्रबारे प्रष्ट खुलाइएको छैन् ।

नेपाली सेनाले विगतमा सोभियत संघ हुँदा केही सहकार्य रहे पनि हाल रुससँग कुनै किसिमको रक्षा साझेदारी नभएको जनाएको छ । हाल नेपाली सेनासँग रहेका चारवटा एमआई १७ हेलिकोप्टरहरू रुससँग प्रत्यक्ष खरिद गरिएका नभई कजाखस्तानलगायतका देशबाट खरिद गरिएको बताइन्छ । यसै साता नेपालका लागि नयाँ रुसी राजदूत एलेक्से ए नोभिकोभले जंगी अड्डामा प्रधानसेनापती पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

नेपालको परम्परागत साझेदार भारतबाहेक चीन र अमेरिकासहितका शक्तिराष्ट्रहरूले नेपाली सेनासँगको सहकार्य बढाउँदै लगेका वेला मस्कोको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ । रुसी विदेशमन्त्रीले कानुन कार्यान्वयन, आप्रवासन, विपद् व्यवस्थापन र नेपाल अनि रुसका टेलिभिजन च्यानलहरूबीच सहकार्य बढाउने विषयबारे पनि सम्झौता गरिने उल्लेख गरे ।

अघिल्लो महिना ऊर्जामन्त्री वर्षमान पुन रुसको भ्रमणमा आएको उल्लेख गर्दै लाभ्रोभले नेपाल र मस्कोबीच ठूलो मात्रामा व्यापार नभएपनि जलविद्युत्को क्षेत्रमा संयुक्त रूपमा काम गर्न सकिने सम्भावना रहेको उल्लेख गरेका थिए । उनले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा रुसका तर्फबाट खेलकुद र संस्कृति हेर्ने निकायका प्रतिनिधिलाई काठमाडौं पठाउने प्रयास गर्ने पनि बताएका छन् ।

अघिल्लो वर्ष ११ हजार रुसी पर्यटकले नेपालको भ्रमण गरेका थिए र नेपाल भ्रमण गर्ने रुसी पर्यटकको संख्या बढ्दै गइरहेको अधिकारीहरूले बताउने गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली के भन्छन् ?
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा दुई दशकपछि स्थिर सरकार सत्तामा रहेको भन्दै परिवर्तित परिस्थितिमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिएका थिए ।  उनले रुसले अन्तर्रा्ष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै रुसको ऊर्जासहितका व्यापार र लगानीको क्षेत्रमा सहकार्यको सम्भावना औँल्याएका थिए । नेपालको विदेश नीतिबारे चर्चा गर्ने क्रममा उनले सीमा जोडिएका छिमेकी भारत र चीनसँगको सम्बन्ध नेपालको प्राथमिकतामा रहेको उनले उल्लेख गरेका थिए । साथै रुसजस्ता महत्वपूर्ण शक्तिराष्ट्र अनि विकास साझेदारहरूलाई पनि नेपालले आफ्नो विदेश नीतिमा प्राथमिकता राखेको मन्त्री ज्ञवालीको भनाइ छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले सगरमाथा संवाद नामक रणनीतिक छलफल आयोजना गर्न लागेको भन्दै यसपटक जलवायु परिवर्तनको मुद्दामा उक्त सम्मेलन केन्द्रित हुने जानकारी दिएका थिए । उनले उक्त कार्यक्रममा रुसबाट उच्च तहको प्रतिनिधित्व हुने अपेक्षा पनि व्यक्त गरेका छन् ।  यसअघि सन् २००५ मा शाही शासनका समयमा नेपाल र रुसबीच परराष्ट्रमन्त्रीको तहमा वार्ता भएको थियो । उक्त वार्तापछि तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालमा चालिएको शाही कदमप्रति मस्कोको समर्थन रहेको धारणा सार्वजनिक गरेका थिए ।

तर, रुसी विदेश मन्त्रालयले उक्त भेटवार्ताका बारेमा जारी गरेको विज्ञप्तिमा मन्त्री पाण्डेले भनेका ती कुरा नसमेटिएपछि ढाँट्न खोजेको भन्दै मन्त्री पाण्डेको आलोचना भएको थियो । संयोगले त्यसवेला पनि लाभ्रोभ नै रुसी विदेशमन्त्री रहेका थिए । त्यसभन्दा अघि सन् १९९१ मा नेपाली परराष्ट्रमन्त्रीले रुसको औपचारिक भ्रमण गरेको रुसी विदेश मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया