जेउलिगाड आयोजना सम्पन्न

बझाङ । जयपृथ्वीनगरपालिका ८ स्थित निर्माणाधीन जेउलीगाड जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । १ मेगावाट क्षमता भएको उक्त जलविद्युत् आयोजनाको मंगलबार गरिएको परीक्षण कार्य सफल भएको छ । जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि अहिले राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । यतिखेर बझाङको चैनपुर देखि डढेल्धुरासम्म उक्त जलविद्युत् आयोजनाबाट उत्पादन भएको बत्ती बलिरहेको छ । जेउलीगाड जलविद्युत् आयोजनाबाट उत्पादन भएको बत्ती १५ दिन सम्म राष्ट्रिय प्रशारण लाइनमा निशुल्क दिइने र त्यसपछि मात्र उत्पादन बत्ती बिक्री प्रक्रियामा जाने सञ्चालक समिति अध्यक्ष वीरेन्द्र बहादुर मल्लले जानकारी दिएका छन् ।

२५ करोडको लागतमा निर्माण भएको उक्त जलविद्युत् आयोजना करिब ३० महिना पछि निर्माण कार्य सम्पन्न भएपछि बत्ती बलेको छ । दुई सातापछि उक्त आयोजनाको औपचारिकरूपमा उद्घाटन गरिने जेउलीगाड जलविद्युत् आयोजनाले जनाएको छ । १ मेगावाट क्षमता भएको जेउलीगाड जलविद्युत् आयोजना निर्माण भई बत्ती बलेसँगै यतिखेर जिल्लाबासी निकै हर्षित भएका छन् । पटक पटक लोडसेडिङको मार खेप्दै आएका बझाङ सदरमुकाम बासी निरन्तर बत्ती पाएपछि निकै खुसी भएका छन् । जिल्लामा राष्ट्रिय प्रशारण लाइन अबरुद्ध भएपनि जेउलीगाड जलविद्युत् आयोजनाले नियमित बत्ती दिने भएपछि सदरमुकाम बासी अँध्यारोमुक्त हुने भएका छन् ।

प्रतिक्रिया