खोजखबर

सरकारको शैली बदल्न कांग्रेसको जीत आवश्यकः गगन थापा

सौर्य अनलाइन २०७६ मंसिर ११ गते १९:०० मा प्रकाशित

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारको शैली बदल्न नेपाली कांग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–१६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभामा बुधबार उनले शैली बदल्दै सरकारलाई सन्देश दिनका लागि उपनिर्वाचन काँग्रेसले जित्नुपर्ने बताए ।

नेता थापाले शक्तिशाली रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अवधिमा जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनले भने ‘सरकारले काम गर्न सकेको छैन । तपाईँहरुले यस निर्वाचनमार्फत सन्देश पठाउन जरुरी रहेको छ ।’ नेता थापाले केपी ओलीको सरकार अनुकूल समयमा भएको भए पनि काम गर्न नसक्दा जनता निरास भएको बताए । सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन नेपाली कांग्रेसका उम्मेदवारलाई रहेको घोषणा गरेको थियो ।

संयुक्तका तर्फबाट वडाध्यक्षका उम्मेदवार विष्णु त्रिपाठी र जिल्ला सचिव केशव भण्डारीले आफूहरुको समर्थन कांग्रेसको उम्मेदवारलाई भएको बताए । भण्डारीले जिल्ला समितिको निर्णयले भरतपुर महानगर–१६ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा पुरानो लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेको जानकारी गराए ।

सभालाई कांग्रेस केन्द्रीय सदस्य डिना सङ्ग्रौला, जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृत हमाललगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपा परित्याग गरी १५० जना कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय