बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि

रामपुर । पाल्पा निस्दी– ५ गल्धा बेलडाँडाकी भुवानी फालले खसी–बोका बिक्रीबाट एक वर्षमा रु दुई लाख ६५ हजार ५८५ बुझिन् । उनले घरधन्दा सकेर फुर्सदको समयमा पालेको बाख्राले यसरी आम्दानी होला भनेर सोचेकी थिइनन्  । ‘बाख्रापालनबाट राम्रो आम्दानी लिन सकेकी छु”, उनले भनिन, ‘मलाई सन्तुष्टि मिलेको छ ।’ उनको घरमा अहिले पनि २५ भन्दा बढी बाख्रा छन् ।

पाल्पा ढुङगानावेंशीका नारायणी ढुङगानाले पनि वार्षिक एक लाख २८ हजार रुपैयाँभन्दा बढी बाख्रापालनबाट आम्दानी गरेकी छन् । एक वर्षमा घरमै बसेर यति धेरै आम्दानी होला भनेर उनले सोचकी थिइनन् । तर बाख्रा पालेर आम्दानी राम्रो भएको उनले बताईन् । ‘यस्तो राम्रो आम्दानीको स्रोतका विषयमा मलाई पहिला जानकारी भएन’, उनले भनिन् । विभिन्न सहकारी संस्थामा आवद्ध भएका महिलाहरूलाई बाख्रापालनबाट राम्रो फाइदा भएको हो । आम्दानीको स्रोतका रूपमा उनीहरूले बाख्रलाई लिन थालेका हुन् । यसअघि आफूलाई आवश्यक चुरा, टीका, पोतेसमेत किन्न पैसा नहुने गरेकोमा पछिल्लो समय उनीहरू घरखर्च चलाउन, छोराछोरी पढाउनलगायत आफूलाई आवश्यक परेका बेला आफैंले खर्च गर्ने पैंसा जुटाउन थालेका छन् ।

पाल्पाको निस्दी गाउँपालिका–५ स्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गतवर्ष खसी–बोका बिक्रीबाट ५४ लाख तीन हजार ६३ रुपैयाँ आम्दानी गरेको थियो । संस्थाका व्यवस्थापक दिलमाया सारुका अनुसार महिलाले गाउँमा लोकल कुखुरापालन, बोडा, सिमी, गहत, सुन्तला बिक्रीबाटसमेत आम्दानी दिने गरे पनि आर्थिक उपार्जनको मुख्य बाटो बाख्रापालन रहेको छ । उनले आगामी वर्ष एक हजार २०० खसी बोका बिक्री गर्ने लक्ष्य लिएको बताईन ।

पाल्पा जिल्लामा अहिले २०० बढी सहकारी संस्था लिमिटेड रहेकोमा ५० भन्दा बढी महिला सहकारी संस्थामा रहेको जिल्ला सहकारी सङ्घका सदस्य सूर्यप्रसाद रेग्मीले जानकारी दिए । जिल्लाका अधिकांश सहकारी संस्थामा आवद्ध महिलाले सचेतना बृद्धिसँगै आयआर्जनमूलक कार्य गर्दै आएका छन् । सधैँ घरधन्दा र चुलोचौकामा व्यस्त हुने महिला घरको काम धन्दा सकेर आयआर्जन गर्नका निम्ति कृषि उत्पादन तथा पशुपालनमा उन्मुख हुन थालेका छन् । यसबाट उनीहरू आत्मनिर्भर बन्दै गएका छन् । सहकारीले आफ्नो परिचय दिनसमेत नसक्ने महिलाहरूलाई सबैसँग खुलेर बोल्न, सरसफाइ तथा व्यवहारिक सीपसमेत सिकाएको छ ।

प्रतिक्रिया