पिपिएल यू–१९ का ४ खेलाडी अनुबन्धित

काठमाडौं । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को नयाँ सिजनका लागि ६ फ्रेन्चाइज टोलीले अनुबन्ध र फुकुवा हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् । अनुबन्ध हुने नयाँ खेलाडीमा सिनियर टोलीबाट खेलिसकेका बायाँ हाते युवा अलराउन्डर कुशल मल्ल १ लाख ५० हजारमा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टनमा अनुबन्ध भएका छन् । पोखरा गत सिजनको च्याम्पियन समेत हो । कुशलले तल्लोक्रममा आक्रमक सट प्रहार गर्नुका साथै स्पिन बलरको भूमिका निर्वाह गर्नेछन् । यू१९ टोलीकै तीव्र गतिका बलर आकाश चन्दलाई पनि पोखराले ५० हजारमा पैयाँमा भित्र्याएको छ । आशकले तल्लोक्रममा ठूलो सट खेल्ने क्षमता राख्छन् ।

एक्सपर्ट धनगढी ब्लुजले मध्यक्रमका ब्याट्सम्यान सुनम गौतम र स्पिनर अनिल खरेललाई समान ५० हजारमा अनुबन्ध गरेको छ । सुनमले अस्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । स्पिनर अनिललाई यसै सिजन बुटवल ब्लास्टर्सले फुकुवा गरेको थियो । यता नरेश बुढाएरलाई फुकुवा गरेको काठमाडौं गोल्डेन वारियर्सले सिनियर टोलीका ओपनर तथा विकेटकीपर सुवास खकुरेल र तीव्र गतिका बलर अमृत भट्टाईलाई समान ५० हजारमा भित्र्याएको छ ।

यू१९ का अलराउन्डर शेर मल्ल र तीव्र गतिका बायाँ हाते बलर कमल खत्रीलाई बुटवल ब्लास्टर्सले अनुबन्ध गरेको छ । शेरलाई ५० हजार र कमललाई ३० हजारमा अनुबन्ध गरिएको हो । विकेटकीपर दिलिप नाथलाई ७५ हजारमा विराटनगर टाइटन्सले भित्र्याएको छ । दिलिपलाई धनगढीले फुकुवा गरेको थियो । विराटनगरले यू१९ का ओपनर लोकेश बमलाई ५० हजारमा भित्र्याएको छ ।

गत सिजनको उपविजेता चितवन राइनोजले तीव्र गतिका बलर विक्रम सोबलाई १ लाख ३० हजार खर्चेर टोलीमा अनुबन्ध गरेको छ । त्यस्तै पोखराले फुकुवा गरेको स्पिनर विक्रम भुषाललाई चितवनले ५० हजारमा भित्र्याएको छ । पिपिएल मंसिर २८ देखि पुस १२ सम्म पोखरा रंगशालामा हुनेछ ।

प्रतिक्रिया