न्युजिल्यान्ड इनिङ अन्तरले विजयी

एजेन्सी, लन्डन । इंग्ल्यान्डसँगको पहिलो टेस्टमा घरेलु टोली न्युजिल्यान्ड इनिङ्स अन्तरले विजयी भएको छ । इंग्ल्यान्ड दोस्रो इनिङमा ९६.२ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि न्युजिल्यान्ड ६५ रनको इनिङ्स अन्तरले विजयी भएको हो । इंग्ल्यान्डका जो डेनली ३५, रोरी बर्न्स ३१, कप्तान जोरुट ११, बेन स्टोक्स २८, जोफ्रा आर्चर ३० रनमा आउट हुँदा साम करन २९ रनमा अविजित रहे । न्युजिल्यान्डका निल वाग्ररले १९.२ ओभरमा ६ मेडन सहित ४४ रन खर्चेर ५ विकेट लिए । मिचेल सान्टनारले ३, कोलिन डी ग्रान्डहोम र टिम साउथीले १(१ विकेट लिए ।

त्यसअघि न्युजिल्यान्डले २ सय १ ओभरमा ६१५–९ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका विकेटकिपर बिजे वाटलिङले २ सय ५ रनको दोहोरो शतकीय इनिङ खेल्दै कीर्तिमान रचेका थिए । प्लेयर अफ द म्याच चुनिएका वाटलिङ न्युजिल्यान्डबाट टेस्टमा विकेटकीपरको रूपमा दोहोरो शतक पूरा पहिलो ब्याट्सम्यान हुन् । वाटलिङले ४ सय ७३ बलमा २४ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, आठौँ नम्बरमा ब्याटिङ गर्न आएका स्पिनर मिचेल सान्टानरले करिअरकै पहिलो टेस्ट शतक प्रहार गर्दै १ सय २६ रन जोडेका थिए । साम करनले ओल्ली पोपबाट क्याच आउट गराउनुअघि सान्टनारले २ सय ६९ बलमा ११ चौका र ५ छक्का प्रहार गरे । सातौँ विकेटका लागि वाटलिङ र सान्टनारले २ सय ६१ रनको साझेदारी गर्दै विशाल योगफलसम्म पु¥याए । कोलिन डी ग्रान्डहोम ६५, ओपनर जित रावल १९, टम लाथम ८, कप्तान केन विलियम्सनलाई ५१, रोश टेलर २५ र हेनरी निकोल ४१ रनमा आउट भएका थिए ।

इंग्ल्यान्डका युवा खेलाडी साम करनले ३, ज्याक लेच र बेन स्टोक्सले समान २ विकेट लिए । पहिलो इनिङमा इंग्ल्यान्ड १ सय २४ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो । अलराउन्डर बेन स्टोक्सले सर्वाधिक ९१ रनको योगदान दिएका थिए । डेनली ७४, रोरी बर्न्स ५२, ओल्ली पोप २९, विकेटकीपर जस बटलर ४३, साम करन शून्य र जोफ्रा आर्चर ४ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथीले ४, निल वाग्रर ३, कोलिन डी ग्रान्डहोम २ र ट्रेन्ट बोल्टले १ विकेट लिए । दोस्रो टेस्ट शुक्रबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया