‘मधेसी र पहाडीयाको विभेद दुखद

सिरहा । प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारले मधेसमा जति जातीय र लैंगिक विभेद छ त्यति नै मधेसी र पहाडीया समुदायबीच विभेद देखिनु दुःखद रहेको बताएका छन् । जागरण अभियान धनुषा र मिसन बोर्डरका प्रतिनिधिसँग आइतबार जनकपुरस्थित निवासमा सामुहिक भेट गर्दै परियारले उक्त धारणा राखेका हुन् ।

‘प्रदेश–२ मा जातीय र लैंगिक विभेद अझै पनि चरम रूपमा रहेको पाइयो’, प्रदेश प्रमुख परियारले भने, ‘जातीय र लैंगिक विभेद रहेझैँ प्रदेश–२ मा मधेसी समुदाय र पहाडे समुदायबीच विभेद रहेको सुन्नमा आएको छ ।’ प्रदेश प्रमुख परियारले हिजो कुनै पहाडीया समुदायका शासकले मधेसी समुदायलाई शोषण गरेकै हो । तर, केही पहाडीया समुदायका शासकले मधेसी समुदायप्रति गरेको विभेदलाई नै आधार बनाएर सबै पहाडीया समुदायलाई विभेद गर्नु दुःखद हो ।

पहाड, हिमाल र तराईलाई अलग्याएर हेर्ने मानसिकता त्यागेर समग्र प्रदेश–२ मा जागरण अभियान चलाएर महिलालाई माथि उठाउनुपर्ने उनको भनाइ थियो । ‘जागरण अभियानका लागि सबै किसिमको सहयोग गर्न म तयार छु’, प्रदेश प्रमुख परियारले भने । मिसन बोर्डरका प्रतिनिधिले हुलाकी राजमार्ग निर्माण ढिलासुस्ति र स्तरहीन बनेको भन्दै प्रदेश प्रमुखसँग गुनासो गरेका थिए । मिसन बोर्डरका प्रतिनिधिहरूको उक्त गुनासो सुनेपछि प्रदेश प्रमुख परियारले यस विषयमा सम्बन्धित निकायसँग यथाशीघ्र जानकारी लिने बताएका थिए ।

प्रतिक्रिया