खोजखबर

उपचारबाट कसैले बञ्चित हुनु पर्दैन : ढकाल

सौर्य अनलाइन २०७६ मंसिर १० गते ७:३९ मा प्रकाशित

काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पैसाको अभावमा उपचार हुनबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्ने बताएका छन् । उनले सोमबार दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरणको लागि पूर्व तयारी अभिमुखीकरण गोष्ठीमा यस्तो बताएका हुन् । ‘सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर अघि बढिरहेको भन्दै मन्त्री ढकालले त्यसको औचित्य सबै नेपालीलाई उपचारको पहुँचमा पु¥याएपछि मात्रै हुने बताएका हुन् । अब कोही पनि नेपालीले पैसाको अभावमा कुनै पनि रोगको उपचारबाट बञ्चित हुन नपरोस्, त्यसको उपाय के हुन सक्छ ? हामी त्यसको खोजी गर्दैछौँ,’ उनले भने ।

सन् २०२३ सम्ममा दादुरा रुवेला निवारण गर्ने नयाँ लक्ष्य पूरा गर्न संघ, प्रदेश र स्थानीय तहले मिलेर काम गर्नुपर्ने उनले बताए । कार्यक्रममा स्वास्थ्य सचिव खगराज बरालले सरकारले नियमित खोप कार्यक्रममार्फत् विभिन्न खोपहरू निःशुल्क रूपमा प्रदान गरिरहेको भन्दै दादुरा रुवेला खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेल, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.जोश भेन्डेरसन, युनिसेफका प्रतिनिधि इलिकबीचले अभियानको बारेमा बोलेका थिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले दादुरा रुवेलाको अहिलेको अवस्था र भविष्यमा गर्ने योजनाका बारेमा जानकारी दिए । पोषण शाखाका प्रमुख केदार पराजुलीले खोपको महत्व र सरकारले चालेका योजनाका बारेमा जानकारी गराएका थिए । गोष्ठीका लागि सबै प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

दादुरा रुवेला खोप लगाइँदै
यसैबीच सन् २०२३ सम्ममा दादुरा रुवेला रोग निवारण गर्ने नयाँ लक्ष्यअनुसार सरकारले आगामी फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान सुरु गर्दैछ । यो अभियानअन्तरगर्त देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई खोप दिइन लागिएको छ ।

पहिलो चरणमा फागुन महिनाभर प्रदेश नं १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार चार सय ३३ जना बालबालिकालाई र दोस्रो चरणमा चैत महिनामा प्रदेश नं ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार सात सय ७१ जना बालबालिकालाई यो खोप दिइने तयारी छ । सोही समयमा यस पटक झापादेखि कञ्चनपुरसम्मका १८ जिल्लाका (चितवन र नवलपरासीलाई छाडेर) सबै बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाइने योजना रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. गौतमले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय