५२ पदमा उपनिर्वाचन : साख जोगाउने कसरतमा दल

काठमाडौं । उपनिर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा दलहरूले आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । मौन अवधि सुरु हुनै लाग्दा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दलहरूले आ–आफ्ना शीर्ष नेतालाई नै मत माग्न चुनावी मैदानमा उतारेका छन् ।  उपनिर्वाचनमा आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन प्रमुख राजनीतिक दलका नेताहरू सम्पूर्ण शक्ति खर्चिएर चुनावी कार्यक्रममा होमिएका हुन् । एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिकाका मेयरसहित ५२ पदका लागि निर्वाचन हुन लागेको हो । स्थानीयस्तरका नेतादेखि जिल्ला, प्रदेश र केन्द्रीयस्तरका नेतासमेत चुनावी अभियानमा खटाएका दलहरूले परिणाम आफ्नो पक्षमा पार्ने अन्तिम कसरत गरिरहेका हुन् । दलहरूको पछिल्लो अभिमतका रूपमा हेरिएको उपनिर्वाचनमा आ–आफ्नो साख जोगाउन विशेषगरी सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लागिपरेका छन् ।

यो उपनिर्वाचनको मतपरिणामले सत्ताको समीकरणमा कुनै असर नपर्ने भए पनि जनमतलाई मनोवैज्ञानिक दबाब सिर्जना गर्न ठूलो हात राख्ने भएकाले दलहरू जोडतोड गरिरहेका हुन् । दलहरूले उपनिर्वाचनलाई आगामी राजनीतिक रणनीतिका रूपमा लिने भएपछि फुर्सदमा रहेका अधिकाशं शिर्ष नेता वडास्तरका कार्यक्रमसम्म पनि पुगेका छन् । उनीहरू हरेक दिन घरदैलो कार्यक्रममा सहभागी हुँदा स्थानीयस्तरका नेता कार्यकर्ता पनि खुसी भएका छन् । विशेषगरी यो निर्वाचनलाई नेकपा र कांग्रेसले आफ्नो प्रतिष्ठाको लडाइका रूपमा हेरेका छन् । कांग्रेसले आफू एक रहेको भन्दै सरकारलाई असफल रहेको सन्देश दिन यो उपनिर्वाचनलाई प्रयोग गरेको छ । तीनै तहमा सरकार रहेको नेकपाले भने आफ्नो पकड अझै दह्रो रहेको सन्देश प्रवाह गर्ने रणनीतिस्वरूप यो उपनिर्वाचनलाई प्रयोग गरेको छ । अन्य दलले भने ठूला दलको असफलतालाई आफ्नो सफलताका रूपमा प्रयोग गर्ने दाउमा चुनावी मैदानमा होमिएका छन् ।

सत्तारूढ दल नेकपाको उपनिर्वाचन कमान्डर रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेत चुनावी गतिविधिमा सक्रिय छन् । यो पार्टीका शीर्ष नेताहरू कुनै न कुुनै जिल्लामा पुगेर प्रत्येक दिन चुनावी सभालाई सम्बोधन गरिरहेका छन् ।

नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीकृष्ण ढकालका अनुसार अध्यक्ष प्रचण्डले चितवन, बाँके, नवलपरासी, दाङ, बाग्लुङलगायतका चुनावी कार्यक्रमलाई सम्बोधन गरिसकेका छन् । उपनिर्वाचनमा अध्यक्ष प्रचण्डबाहेक महासचिव विष्णु पौडेल, नेताहरू माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि विभिन्न जिल्लाका चुनावी कार्यक्रममा पुगिरहेका छन् ।

कांग्रेसले पनि आफ्नो सम्पूर्ण शक्ति उपनिर्वाचनमा खर्चिएको छ । कांग्रेसका धेरैजसो नेताहरू चुनावी दौडधुपमा लागेका छन् । सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरू उपनिर्वाचन केन्द्रित जिल्ला दौडाहमा व्यस्त छन् । कांग्रेसको जम्बो टोली नै कास्की–२ मा केन्द्रीतसमेत भइरहेको छ । कास्कीमा जम्बो टोली नै पुगेपछि त्यहा खर्च व्यवस्थापनको समस्या आएको गुनासो स्थानीय नेताले गरेका छन् । बोलाएका नबोलाएका सबै नेता आउने र होटलमा बस्दै उम्मेवारको नाममा बिल थमाउने भएपछि स्थानीय नेताले सभापति देउवासँगै सो विषय अवगत गराएका थिए । देउवाले केन्द्रको अनुमति मात्र लिएर प्रचारमा आउन निर्देशन दिइसकेका छन् ।

अन्य दलका शिर्ष नेता पनि आ–आफ्ना उम्मेद्धार रहेको निर्वाचन क्षेत्रमा पुगेर जनतासँग प्रत्यक्ष रूपमा भेटिरहेका छन् । उनीहरूले आफ्ना उम्मेवारलाई विजयी बनाउन आग्रह गरिरहेका छन् । अध्यक्ष प्रचण्डले सोमबार मात्रै चितवनको चुनावी सभालाई सम्बोधन गरेका छन् । चितवनको सभालाई सम्बोधन गदै प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेन्डा नबनाउन कांग्रेसलाई आग्रह गरेका छन् । ‘देउवाजी जस्ता साथीहरू झुटा कुरा नगरौँ, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकताजस्ता कुरा चुनावी एजेन्डा होइनन’ प्रचण्डको भनाइ छ ।

यस्तै, भक्तपुरको चुनावी कार्यक्रममा माधव नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल र सुवास नेम्वाङ लगायतका नेताहरूले सम्बोधन गरिसकेका छन् । यो जिल्लामा अन्तिममा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सम्बोधन गर्नेछन् । पूर्वी जिल्ला पाँचथर, सुनसरीलगायतका जिल्लामा सुवास नेम्वाङ लगायतका नेताहरू खटिएका छन् । नेम्वाङ विगत एक सातादेखि पूर्वका जिल्लाहरूमै खटिएका छन् ।

सभापति देउवाले शुक्रबार र शनिबार पोखराको चुनावी सभालाई सम्बोधन गरे भने बाग्लुङको सभालाई पनि सम्बोधन गरे । कांग्रेस नेताहरूले खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमाथि गम्भीर प्रश्न उठाएका वेला सत्तारुढ पार्टी नेकपाका नेताहरूले भने कांग्रेसलाई त्यसको जवाफ निर्वाचन परिणामबाटै दिने तयारीमा छ ।

उपनिर्वाचन हुने पद : प्रतिनिधिसभा सदस्य – १,

प्रदेश सभा सदस्य –३,

स्थानीय तहका प्रमुख –१,

अध्यक्ष – ३, उपाध्यक्ष – १,

वडाध्यक्ष – ४३
मतदान केन्द्र : २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र

प्रतिक्रिया