महोत्सवमा ‘हत्केला खेल्ने’ प्रतियोगिता

बागलुङ । माछा समाउने (हत्केला खेल्ने) प्रतियोगिताले यहाँ जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा नौलो आकर्षण थप्यो । आइतबार दरमखोलामा राखिएको प्रतियोगितालाई दर्शकले चाख मानेर हेरे । कुरमा हात हालेर माछा समाउने परम्परागत सीपलाई स्थानीयले ‘हत्केला खेल्ने’ भनेर चिन्छन् ।

प्रतियोगितामा आठ जनाले सहभागिता जनाएका थिए । महोत्सव मूल आयोजक समितिका अनुसार सङ्ख्या र आकारका आधारमा विजेता घोषणा गरिएको थियो । निर्धारित २२ मिनेटभित्र सबैभन्दा बढी सात वटा माछा समाउने सुरेश छन्त्याल प्रथम भएका छन् । तीन वटा माछा समाउने दलबहादुर बुढाथोकी द्वितीय भए । छन्त्याल र बुढाथोकीले क्रमशः रु आठ हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

आकारमा सबैभन्दा ठूलो १५० ग्रामको माछा समातेर ईश्वर परियार प्रथम भएको समितिका सहसंयोजक राज थापाले जानकारी दिए । धेरै माछा समातेर प्रथम भएका छन्त्याल आकारतर्फ भने द्वितीय भए । दुवैले क्रमशः रु आठ हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे । छन्त्याल यसअघि विसं २०६३ मा भएको पहिलो महोत्सवमा पनि प्रथम भएका थिए ।

‘माछाको प्रचारसँगै माछा समाउने परम्परागत सीपको जगेर्नाका लागि प्रतियोगिता राखिएको हो’, सहसंयोजक थापाले भने । ‘करेन्ट’, विष र पासो लगाउँदा माछा नै सङ्कटमा पर्ने देखिएका बेला प्रतियोगिताले माछाको व्यवस्थित शिकारको सन्देश दिएको उनको भनाइ छ ।

हत्केला खेलेर माछा मार्ने चलन अहिले छैन । माछा समाउने पुरानो तरिका जोगाउँदा पर्यटकीय आकर्षण पनि थपिने विश्वास लिइएको छ । ‘प्राकृतिक र मौलिक हिसाबले माछाको शिकार गरिने हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ’, गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेरबहादुर थापाले भने ।

नेपाल बैंक लिमिटेड हरिचौर शाखा र हरिचौर मनि ट्रान्सफरले प्रतियोगिताको पुरस्कार प्रायोजन गरेका थिए । महोत्सवको आकर्षणका रूपमा रहेको उक्त खेललाई आउँदा दिनमा पनि निरन्तरता दिइने आयोजकले जनाएको छ । बुधबारदेखि सुरु भएको महोत्सव ११ गतेसम्म चल्नेछ । महोत्सवमा पुरुष तथा महिला भलिबल, लोकदोहोरी, रत्यौली, तारो खेल, छेलो, पर्यटन दौड, ब्याडमिन्टनलगायतका प्रतियोगिता राखिएको छ । महोत्सवमा हेलिकप्टर शयरकोसमेत व्यवस्था छ ।

गलकोट नगरपालिका–५ हरिचौर, बसाहफाँटमा चलिरहेको महोत्सवमा मौलिक संस्कृति, कृषि, जडीबुटी, पुरातात्विक महत्वका वस्तु, सामग्रीको पनि प्रदर्शनी छ । पर्यटन र व्यापार प्रवद्र्धनसँगै खेल, कला, संस्कृतिको जगेर्नाका लागि महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा रु एक करोड खर्च हुने र रु ४५ लाख बचत गर्ने लक्ष्य लिइएको छ । बचत भएको रकम गलकोट क्षेत्रको पर्यटकीय गुरुयोजना निर्माण, खेल, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा खर्च गरिनेछ । महोत्सवले नेपाल भ्रमण वर्ष, २०२० को प्रवद्र्धनमा समेत सघाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया