पशुपतिको भित्री भागको पहिलो पटक सर्वेक्षण

काठमाडौं । पशुपतिनाथ मुख्य मन्दिरको भित्र भागको भौतिक संरचनाको पहिलो पटक सर्वेक्षण गरिएको छ । भूकम्पमा पशुपति क्षेत्रकै अधिकांश मन्दिर भग्नावशेषमा परिणत भएपनि मुख्य मन्दिरको अवस्थाबारे जानकारी थिएन । मन्दिरको टुँडालबाट पानी चुहिएको भन्ने विषय व्यापक मात्रामा उठेसँगै सो सर्वेक्षण गरिएको हो । पशुपति क्षेत्र विकास कोषले सो मन्दिरका भण्डारीहरूलाई सातदिने प्रशिक्षण दिएर सर्वेक्षण गर्न लगाएको थियो । २०७१ मा मन्दिरको बाहिरी भागको अध्ययन भए पनि भित्री भागको भने अध्ययन हुन सकेको थिएन ।

मन्दिरभित्र पुजारीबाहेक अरू पस्न नपाउने परम्परा रहेकाले यसको अवस्था अध्ययन गर्न समस्या भएका थियो । मन्दिरभित्र चार जना भट्ट मात्र जान पाउँछन् । मन्दिरका पुजारीलाई समेत मन्दिरका सबै ठाउँमा जान नपाउने परम्परा छ । मन्दिरकै माथिल्लो तलामा रहेको ढुकुटीमा भने एक जना बिसेट मात्रै जान पाउँछन्  । ढुकुटीका गहना तलमाथि होलान् भनेर बिसेटसमेत लंगौटी र धोतीपाटा लगाएर मात्र जान पाउने व्यवस्था छ  ।

यसपटक पुरातत्व विभाग, पशुपति क्षेत्रविकास कोष, गुठी र पशुपति मन्दिरका भण्डारीसमेतको मिलेमतोमा सो मन्दिर सर्वेक्षण गरिएको हो । सो मन्दिरमा भण्डारी पुजारीमात्र भित्र जानमिल्ने परम्परा रहेको छ । त्यसैले भण्डारीहरूलाई नै प्रशिक्षण दिएर पठाइएको हो । पुरातत्व बिभागले सो मन्दिरको अध्ययन गर्नका लागि १६ जनालाई पशिक्षण दिएको थियो । जसमध्ये १० जना भण्डारी र ३ जना बिसेट मन्दिर भित्र प्रवेश गरेका थिए । उनीहरूले सो मन्दिर भित्रको पर्खाल, काठलगायतका सम्पूर्णको सर्वेक्षण गरेका थिए ।

सर्वेक्षण गर्दा मन्दिरको भित्रीभाग अर्थात् भण्डारमा खासै समस्या नदेखिएको भण्डारीले बताएका छन् । सो सर्वेक्षण गर्दा एक ठाउँमा काठमा सामान्य समस्या देखिएको छ । साथै तीनवटा इटा फुटेको फेलापरेको पशुपतिका केदारमान भण्डारीले बताएका छन् । यसअधि पानी चुहिएको विषय सार्वजनिक भएको थियो । पानी बाहिरीभागमा चुहिएको भण्डारीले बताए । यसअधि मन्दिरको अवस्था के छ भनेर जानकारी नै थिएन ।

यसले मन्दिरको अवस्था के कसो छ भनेर अध्ययन भएको थिएन । पशुपति कोषका सुचना अधिकारी प्रमहरी ढुंगानाले भने, ‘हाम्रो मन्दिरको अवस्था के छ ? आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नका लागि यो सर्वेक्षणले महत्वपूर्ण भूमिका खेल्छ ।’ पशुपतिनाथको माथिल्लो तल्लामा रहेको भण्डार वर्षमा दुईपटक मात्र खोलिन्छ । बालचतुर्दशीको अघिल्लो दिन नागको मणि निकाल्न खोलिने गरेको कोषले जनाएको छ ।

अघिपछि खोल्न नमिल्ने भएकाले मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन खेलेर सर्वेक्षण गरिएको पशुपति क्षेत्र विकास कोषले जनाइको छ । पशुपतिको सर्वेक्षण तीन चरणमा गर्ने भएको छ । पहिलो चरणमा मन्दिरको भित्री भागको सर्वेक्षण गरिएको छ । पू्र्वतिरको तेस्रो टुँडालको फेदमा देवताको आकृति भएको ठाउँबाट पानी चुहिन्छ । यो पानीले भित्री भागमा असर गरेको छैन । दोस्रो चरणमा छानो र टुँडालको सर्वेक्षण गरिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । कोषका अनुसार आगामी माघ महिनाभित्र सम्पूर्ण काम सकिने छ ।

मन्दिरमा केही वर्षदेखि भित्री काठ कुहिँदै गएको शंका थियो । चाँदीले मोरिएको तोरणमा किला ठोक्दा नठोकिने समस्या थियो । त्यसलाई आधार मानेर भित्रका काठ मक्किएको अनुमान कोषले गरेको हो । राष्ट्रिय विभूति भीमसेन थापाले १८७५ सालमा मन्दिरको दक्षिणपट्टिको प्रदक्षिणा पथमा रहेको ढोकालाई चाँदीले मोरेर आकर्षक बनाएका थिए । त्यही वर्ष उनका भाइ रणवीरसिंह थापाले चाँदीका ढोकाको दायाँबायाँ सुनको मोलम्बा लगाइएका थिए  ।

त्यसको १५ वर्षपछि पूर्व, पश्चिम र उत्तरको ढोकामा किलागलका कुलानन्द झा र उनको परिवारले ९ वटा ढोकामा तोरण, चौकोस, खापामा चाँदीले मोरिदिएका थिए । किला नठोकिएको देख्दा ती चाँदी भित्रका काठ कुहिए भन्ने शंका पहिलादेखि गरिएको हो । ढुंगाना भन्छन् ‘हामीलाई यसको अवस्था के छ ? भन्ने पूर्ण जानकारी भएपछि जीर्णोद्धार गर्ने छाैँ । ’पशुपतिनाथ गर्भगृह भएको मन्दिर हो ।

गर्भगृह भएको मन्दिरमा गोप्य तान्त्रिक पूजा हुन्छ । तान्त्रिक पूजा हुने मन्दिरमा सबैलाई प्रवेश दिइँदैन । परापूर्वकालदेखि नै पशुपतिमा गैरहिन्दु, केही जात विशेषलाई समेत प्रवेशमा बन्देज छ । हिन्दूले पनि गर्भगृहको पश्चिम ढोकाबाट दर्शन गर्न पाउँदैनन् । गर्भगृहबाहिरको भने पश्चिमढोकाबाट पनि दर्शन गर्न पाउने व्यवस्था छ । खड्ग निसानी र लालमोहरमै उल्लेख गरेर बन्देजको व्यवस्था गरिएको थियो ।

पशुपतिमा नागमणिको दर्शन

पशुपतिनाथ मन्दिरको मूलद्वार नजिकै भक्तजनले नागमणिको दर्शन गरेका छन् । सो मणि वर्षको एकपटक मात्र निकालिने गरिन्छ । मार्ग कृष्ण त्रयोदशीका दिन भक्तजनलाई दर्शन गराई चतुर्दशीका दिन भगवान शिवलाई लगाइन्छ । सो मणि औँसीका दिन खोलेर पुन ः भण्डारमा राख्ने परम्परा रहेको छ ।

प्रतिक्रिया