इलामका पत्रकारले आपतकालीन राहत पाउने

इलाम ।  इलामका पत्रकारहरूले आपतकालीन राहत पाउने भएका छन् । शनिबार इलाममा सम्पन्न नेपाल पत्रकार महासंघ इलाम शाखाको १५औँ साधारणसभाले आपतकालिन राहत कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ पारित गरेसँगै पत्रकारले राहत पाउने भएका हुन् ।
नेपाल पत्रकार महासंघ इलामको मातहतमा रहने गरी स्थापना भएको आपतकालीन राहत कोष स्थापना भएको छ । कार्यविधि पारित भएसँगै आपतकालीन राहत कोष सञ्चालनको बाटो खुलेको छ । नेपाल पत्रकार महासंघको साधारण सदस्य भई पत्रकारिताका क्षेत्रमा क्रियाशील रहँदा कुनै दुर्घटनामा परी गम्भीर चोटपटक परी अस्पतालमा लैजानु परेका, अंगभंग भएमा वा कडा किसिमको रोगको उपचार गर्नुपरेमा, दुर्घटनाका कारण नीजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा पत्रकारहरूलाई आर्थिक सहायता गरिनेछ ।

सवारी वा अन्य कारणले दुर्घटनाका कारण मृत्यु भएमा १० हजार, दुर्घटनामा परी दीर्घरूपमा अपांग हुने अवस्था सिर्जना भएमा १० हजार, आगलागी, बाढीपहिरो, हुरीबतासका कारण पत्रकारको निजी घरमा क्षति पुगेमा पाँच हजार, कडा किसिमको दीर्घ रोगको उपचार गराउनुपर्ने भएमा पाँच हजार रुपैयाँसम्म उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।

यसैगरी नेपाल पत्रकार महासंघ इलाम शाखाको कोषाध्यक्षमा योगेन्द्र शंकर चयन भएका छन् । शाखाको १५औँ साधारणसभाले शंकरलाई कोषाध्यक्षमा चयन गरेको हो । यसअघिका कोषाध्यक्ष जयकुमार राईले २०७४ को स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराएपछि कोषाध्यक्ष पद रिक्त थियो ।

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासघ इलामका पूर्वअध्यक्ष तथा वर्तमान प्रदेश–१ का उपाध्यक्ष सोमनाथ अधिकारी (सोम सुसेली) सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट समाजमा पु¥याएको योगदानको सम्मान गर्दै सम्मान गरिएको इलाम शाखाले जनाएको छ ।
सुसेली दुईदशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी हाल इलाम सदरमुकामबाट सञ्चालित रेडियो नेपाल वाणी एफएमका प्रमुख र इलामबाट नै प्रकाशित दैनिक पत्रिका इलाम एक्सप्रेसका प्रधान सम्पादकको रूपमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ इला शाखाका अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले गरे ।

कार्यक्रममा प्रदेश–१ का सासद काजीमान कागते, जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरप्रमुख महेश बस्नेत, पत्रकार महासघका उपाध्यक्ष विपुल अधिकारी, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य सटेन्द्र जवेगु, प्रदेश–१ अध्यक्ष बिक्रम लुइँटेलसहित विभिन्न पत्रकारजन्य संगठन, सञ्चार संस्था, राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता थियो ।

प्रतिक्रिया