‘देउवाको अभिव्यक्ति लज्जाजनक’

पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाको आरोपको खण्डन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोपको खण्डन गर्दै जिम्मेवार नेताले सीमाको विषय चुनावी मसला बनाएकोमा रोषसमेत प्रकट गरे ।

देउवाले शनिबार पोखरामा आयोजित चुनावी सभामा भारतले प्रधानमन्त्री ओलीसँग छलफल गरेर नयाँ नक्सा सार्वजनिक गरेको गम्भीर आक्षेप लगाएका थिए । सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले पोखराबाटै त्यसको प्रतिकार गरेका हुन् । आइतबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै मन्त्री बाँस्कोटले भारतको नयाँ नक्सा बनाउन प्रधानमन्त्री ओलीको संलग्नता रहेको भन्नेहरूले कसरी भयो भन्ने कुरा प्रमाणसहित पेश गर्नुपर्ने बताए । ‘प्रधानमन्त्रीज्यूले जुन दृष्टिकोण राख्नुभयो, हाम्रो जमिन फिर्ता गर्ने, हाम्रो अधिकार र सार्वभौमिकताको सुरक्षा गर्ने, यसमा उहाँको विमती थिएन’, मन्त्री बाँस्कोटाले भने, ‘यसलाई चुनावको मसला बनाउनु साह्रै झूठ कुरा हो । गैरजिम्मेवारपूर्ण कुरा हो । यस्तो विषयलाई मसला बनाउनु हुँदैन ।’

चुनावी हारजीतसँग राष्ट्रियता नजोडन उनले देउवालाई सुझावसमेत दिए । प्रमुख प्रतिपक्ष दलसमेत रहेको कांग्रेसका सभापतिले यस्तो कुरा गर्नु गलत रहेको बताउँदै भने, ‘यदि उहाँले सत्य बताउनुभएको नै हो भने, उहाँको विषयमा पनि हामीले गम्भीर प्रश्न उठाउनुपर्ने भयो ।’ राष्ट्रिय मुद्दामा गम्भीरतापूर्वक सरकार लागिरहेको बताउँदै उनले नाकाबन्दीको बेलामा एकशब्द बोल्न नसकेको कांग्रेस चुनावको समयमा ठूलो स्वर निकाल्दै चिच्याउन लागेको बताए ।

यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा कैयौँ विवादास्पद सन्धि सम्झौताका बेलामा देउवाले आत्मसमर्पण गरेको हुँदा अहिले त्यही सोचेर ओली सरकारलाई आरोप लगाएको बताए । बाँस्कोटाले टनकपुर सन्धि नबिर्सिएको बताउँदै भने, ‘सर्वोच्च अदालतले सच्याउनुप¥यो । त्यो सन्धिप्रति शेरबहादुर देउवाको दृष्टिकोण के छ ? जसलाई सर्वोच्च अदालतलेसमेत गलत छ भनेर भनेको छ ।’ त्यो सन्धि कसको पालामा भएको हो ? उनले प्रतिप्रश्न गरे । कालापानी र लिपुलेकको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको उनको भनाइ छ ।

‘भारतको नयाँ नक्साप्रति नेपालको इतिहासमा नै पहिलोपटक प्रधानमन्त्रीले स्वीकार्य छैन भनेर बोल्नुभएको छ,’ उनले भने । देउवाजीले ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैँमा लज्जास्पद रहेको भन्दै खेद प्रकट गरे ।

प्रतिक्रिया