सुरक्षा घेरामै बालविवाह !

जनकपुरधाम । जनप्रतिनिधि र प्रहरीकै उपस्थितिमा भएको बालविवाह लुकाउनका लागि हेलिकप्टर प्रयोग भएको खुलेको छ । बालविवाह थाहा पाउने भएपछि परिवारले हेलिकप्टर चार्टर गरेका हुन् ।  प्रदेश–२ को धनुषाको कमला नगरपालिका–४ बल्हा सघारामा भर्खरै काटिएको धानबारीमा शनिबार दिउँसो एक बजेतिर हेलिकप्टर रोकियो । प्रभु एअरको आर ६६ टरवाइन हेलिकप्टरबाट १८ वर्षका दुलाहा किशोर सम्साद सबैभन्दा अगाडि निस्किए । हेलिकप्टरमा दुलहाका बाबु र अरू दुई जना जन्ती पनि थिए । निजी विद्यालय सञ्चालक बल्हासघाराका सतार कवारी आफ्ना १६ वर्षीया छोरी सबनमको विवाह अरूले थाहा नपाऊन् भनेरै ज्वाइँसहित जन्तीलाई हेलिकप्टरमा चार्टर गरेर घरमा ल्याएका थिए । हेलिकप्टर आएपछि त्यहाँ हेर्न आउनेको भीड निकै ठूलो थियो ।

हेलिकोप्टर अवतरण हुनु अगावै करिब दुईदर्जन जीप (साना सवारीसाधन) मा जन्तीहरू आइपुगेका थिए । त्यहाँ भएको भीडमा दुईवटा चासो देखिएका थियो, ‘जिल्लामै पहिलो पटक सुनिएको हेलिकोप्टर चढेर आउने दुलाहा कस्ता रहेछन् ? र, हेलिकोप्टर कसरी अवतरण हुँदो हो ?’ तर, उनीहरूले दुलाहा देखेपछि दंग परेका थिए । दिउँसो पौने १२ बजे अवतरण भएको हेली विवाह सकेपछि अपराह्न पौने चार बजे सिरहा, सुखीपुर नगरपालिकास्थित लर्कन्हा (बेहुलाको घर) का लागि उडेको थियो । त्यतिन्जेल स्थानीय बल्हा प्रहरी चौकीका इन्चार्ज असइ गणेश दनुवारको कमान्डमा दुई जना र दुब्बरकोट सशस्त्र प्रहरी वेश क्याम्पका वरिष्ठ हवल्दार रंजीत दनुवार कमान्डमा दुई जना रहेको अर्को टोलीले हेलीको सुरक्षा दिएको थियो । विवाहमा वडाध्यक्ष पल्टु कबारी पनि सहभागी भएका थिए ।

१८ वर्षका बेहुला र १६ वर्षीया बेहुली दुवै नेपालको कानुनअनुसार विवाहका लागि अयोग्य छन् । बालविवाह गर्नेलाई कानुनीले कारबाहीको व्यवस्था गरेको छ । तर, प्रहरीकै सुरक्षामा बालविवाह हुँदा पनि हेरी बसेको भन्दै प्रहरीको आलोचना हुन थालेको छ । उमेर नपुगेका केटा वा केटीको धेरै विवाह धनुषा प्रहरीले पनि रोकेको दाबी गर्छ । तर, बल्हासघाराको त्यो विवाहमा हेलीकै पछाडि लागेर दुई सुरक्षा निकायका प्रहरी पनि मुकदर्शक बन्न पुगेपछि यो विषयले राष्ट्रिय बहस लिएको छ ।

बेहुला सम्साद भर्खरै जनकपुरस्थित मोडेल मल्टिपल कलेजबाट १२ कक्षाको परीक्षा दिएर बसेका हुन् भने बेहुली गाउँकै विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा हुन् । बालविवाहमा तपाईं किन साक्षी बसेको भनी प्रश्नमा वडाध्यक्ष कबारीले भने, ‘मलाई के थाहा यो बाल बिहे भन्ने ? म सबैको जन्मदर्ता हेर्दै हिडुँ ? गाउँमा हुने बिहेमा निम्ता आयो, गएँ, भोज खाएर फर्किएँ ।’ प्रहरी चौकीका प्रमुख दनुवारले दुलही बुर्कामा रहेकाले उमेर कति हो भन्ने अनुमान लगाउन नसकिएको बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले २० वर्षमुनि कुनै बहानामा विवाह गर्न र गराउने हक कसैको नरहेको बताए । ‘बालविवाह भएको रहेछ भने पक्राउ गरी कारबाही गर्छौं’, उनले भने । बालविवाहको घटना सार्वजनिक भएपछि कानुनी झमेला पर्ने डरले केटीको जन्मदर्ता सच्याइएको आशंका गरिएको छ ।

प्रतिक्रिया