हेटौँडामा वैकल्पिक सडक निर्माण सुरु

हेटौँडा । राप्ती खोलाले कटान गरेर बगर बनाएको हेटौँडा–१ चौकीटोलको तिरतिरे धाराबाट राप्तीपुलसम्मको क्षेत्रमा प्रदेश सरकारले ‘ड्याम’ निर्माण कार्य प्रारम्भ गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौँडा–१ चौकी टोलबाट हेटौँडा १५ को रातोमाटेसम्म वस्ती सुरक्षाको लागि मजबुद ड्याम र फराकिलो सडक निर्माण गर्ने अभियानअन्तर्गत यो आर्थिक वर्ष तिरतिरे धाराबाट साढे दुई किलोमिटर लम्बाई र ५० मिटर फराकिलो सडक निर्माण कार्य सुरु गरिएको हो ।

बलियो ड्यामकसेर ड्याममाथि बाटो र केही स्थानमा मनोरम पार्कसमेत निर्माण गरिने योजना रहेको मुख्यमन्त्री पौडेलले जानकारी दिए । मुख्यमन्त्री पौडेलका अनुसार ड्याम बनाएर हेटौँडा अस्पतालको क्षेत्रफलसमेत बढाइने छ । सडकको सम्पूर्ण भागको निर्माण सम्पन्न भएपछि मुख्यमार्गको रुपमा यही सडकलाई प्रयोग गर्न सकिने उनको भनाइ छ । हेटौँडा बजार भित्रको सवारी चाप कम गर्न पनि यो सडकले सहयोग गर्ने उनको तर्क छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १३ करोड लगानीमा बाटो निर्माण कार्य शुरु गरिएको हो । सडक निर्माणका लागि मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले बोलपत्रमार्फत सडक निर्माण थालेको हो । समयमै काम सकिने गरी धमाधम काम भइरहेको निर्माणको जिम्मा पाएको गजुरमुखी शिवशक्ति निशान जेभीले जनाएको छ । काम समयमै सम्पन्न गर्न मेसिन र जनशक्ति बढाएर काम भइरहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया