छोरा पाउने आसमा ११ पटक सुत्केरी

कालिकोट । ‘छोरा नभए अपुतो’ भन्ने समाजलाई जोगाउन ११ पटक सुत्केरी भइन् । तीन सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन शुभकालिका गाउँपालिका– ३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् । छोरा पाउने आसमा ११ पटक सुत्केरी हुँदा पनि छोरा नजन्मिदा शुभकालिका गाउँपालिका– ३ की जमरा रोकाया समाजबाट अपहेलित भएकी छन् । अहिले जमराको १ छोरा जन्मियो अनि समाजले सफल महिला ठान्यो । जमराकी आठ छोरी जीवित छन् । छोरीहरूको विवाह भएर पनि नाति,पनाति देखी सकिन् । अंश खाने छोरा नै चाहिन्छ भन्ने सोच भएको समाजले गर्दा धेरै दुख पाएको उनले सुनाइन् ।

छोरा नहुँदा श्रीमान्ले रातदिनै जाँड रक्सी खाने, आएर थर्काउने, तेरै कमजोरी हो भन्ने हुँदा घरमा दैनिक जसो झगडा हुन्थ्यो । झगडाले गर्दा जमराको मन पिरोली रहन्थ्यो । उनले भनिन् ८ छोरी, श्रीमान्, सानो छोरा सबैलाई हुर्काउन,पढाउन साह्रै अप्ठ्यारो भएको छ । जमराका श्रीमान् हाल भारतमा रोजगारीको लागि गएका छन् । एक छोरा जन्मिसके उनका श्रीमान् छोराका पढाइ खर्च जुटाउन भारततिर गएको कुरा उनले सुनाइन् । १५ वर्षको उमेरमा जमराको विहे भएको थियोे ।  ओडारमा गाउन जाने, गोठ बस्ने पुरानो चलन भएको हुँदा आपूmले आफ्नो श्रीमानसँग भागेर विवाह गरेको बताइन् ।

जमरा अहिले ४४ वर्षकी भइन् । ४४ वर्षको उमेरमा १२ सन्तानकी आमा भई सकेकी छन् । जमराको स्वास्थ्य अवस्थामा कमजोरीपन आएको देखिन्छ् । उनले भनिन् ‘गाउँघरमा रातदिन नभनी काम गर्नु पर्ने, खानपिनमा राम्रो नहुने सासु ससुराको बोलीले मन चरक्क हुन्थ्यो । कामका चापले गर्दा सन्तानको राम्रो हेरविचार गर्न पनि सकिएन अहिले न बालवालिकाको पढाइ राम्रो छ, न त स्वास्थ्य अवस्थामा नै ।’ धेरै सन्तान जन्माए भविष्यमा दुख कष्टको ओइरो लाग्ने भन्दै पढाउन लेखाउन समेत गारो भएको बताइन् ।

गरिब घर परिवारमा जन्मिएकी जमराको परिवार त्यति सम्पन्नशाली हैन । प्रत्येक साल भारत नगई घरपरिवारलाई पाल्न धौ धौ पर्छ । उनले भनिन् ‘स्थानीय सरकार आएपछि केही राहत मिल्ला सोचेको झन बज्रपात नै आए जस्तो भएको छ ।’ ९ सन्तानलाई पाल्न, स्याहार सुसार गर्न, कपी कलमसमेत किन्न हम्मे हम्मे भएको भन्दै खेतीपाती गरेरै सबैलाई हेरीरहेको जमराले बताइन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया