बहसमा बौद्ध दर्शन

काठमाडौं । बौद्ध दर्शनको आयाम र यसको प्रभावका बारेमा बहस भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आयोजित ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ विषयक विचारगोष्ठीमा वक्ताले यसको महत्व र सान्दर्भिकताका बारेमा समेत चर्चा गरे ।

गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मानवजीवनका लागि दर्शनको अपरिहार्य महत्व रहेको बताए । उनले दर्शनले नै जीवनमा दृष्टिकोण बनाउन र गन्तव्य पहिल्याउन मार्गनिर्देश गर्ने भएकाले विनादर्शन मानव जीवनको परिकल्पनासमेत गर्न नसकिने धारणा व्यक्त गरे । उनले बौद्ध दर्शनको फराकिलो पक्षलाई मानव जातिले ग्रहण गर्दै समाजको हितमा लगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्ध दर्शन दर्शन मात्रै नभएर धर्म पनि भएको बताए । उनले धेरैअघि नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै विश्वजगत्मै बुद्ध दर्शन तथा बुद्ध फैलिएको दाबी गरे । उनले भने, ‘बुद्ध दर्शन जीवन र जगत्का लागि अपरिहार्य छ । यसको महत्व र आयामलाई अझ व्यापक बनाउनु जरुरी छ ।’

प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रिशतले संसारमै बुद्ध दर्शन उत्कृष्ट दर्शनका रूपमा स्थापित भएको जिकिर गरे । उनले भने, ‘विश्वको करिब तृतीयांश जनसंख्यामाझ यो दर्शनको प्रभाव रहेको छ ।’ उनले बुद्ध दर्शनले समस्त मानव जातिलाई विभिन्न अन्धविश्वास र अतिवादबाट माथि उठाउन मद्दत गर्ने बताए ।

प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्रका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले विश्व दर्शन दिवसका अवसरमा गोष्ठी आयोजना गरिएको जनाए । उनले नेपालीभूमिमा जन्मिएको बौद्ध दर्शनको प्रभाव अन्तर्राष्ट्रिय जगत्मा कस्तो रहेको छ भन्ने जान्नका लागि गोष्ठी आयोजना गरिएको बताए । उनले दर्शन विभागबाट ‘दर्शनावली’ नामक ग्रन्थ प्रकाशित भइरहेको जानकारी दिए । बौद्ध दर्शन के हो र अन्तर्राष्ट्रिय जगत्मा यस दर्शनको प्रभाव कस्तो रहेको छ भन्ने बारेमा बहसका निम्ति कार्यक्रम गरिएको बताउँदै सदस्य सचिव प्रा. उपाध्यायले समाज रूपान्तरणमा बौद्ध दर्शनको महत्व विशिष्ट रहेको बताए ।

गोष्ठीमा प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ का विषयमा विशेष प्रवचन दिँदै बौद्ध दर्शनले मात्रै विश्व मानव जीवनलाई सुखी तुल्याउने बताए । उनले नेपाली भूमिमा जन्मिएका बुद्धले प्रतिपादन गरेको बौद्ध दर्शनले सारा मानव जातिको हितमा रहेको धारणा व्यक्त गरे । नेपाल संस्कृति विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. शिवहरि मरहठ्ठाले बौद्ध दर्शन र यसको महत्वका बारेमा बोल्नुभएको थियो । वेदराज ज्ञवालीले दर्शनशास्त्र विभागको नयाँ प्रकाशन ‘दर्शनावली–६’ को समीक्षा गरे ।

प्रतिक्रिया