बीबीसी चन्द्रागिरि गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । विभागीय ‘ए’ डिभिजन प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बीबीसीले आर्मीलाई १(० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा बीबीसीले खेलको ३० औँ मिनेटमा विदेशी खेलाडी उदे ग्लोरीको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यही गोल नै बीबीसीको जितमा निर्णायक बन्यो ।

पहिलो हाफमा बीबीसीले आर्मीलाई दबाबमा राखेको थियो । १५ औँ मिनेटमा ग्लोरीले नै पहिलो पोस्ट आक्रमण बनेको थियो । १९ औँ मिनेटमा कप्तान जय गुरुङको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । ३० औँ मिनेटमा विदेशी खेलाडी ग्लोरीले कर्नर क्षेत्रबाट ३ डिफेन्डरलाई बिट गर्दै पहिलो बारमा गोल गर्दा आर्मीका गोलरक्षक विश्वास चौधरीले रोक्ने कुनै मौका नै पाएनन् ।

एक गोलले पछि परेपछि आर्मीले सुधारिएको खेल पस्के पनि गोल गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य बन्यो । आर्मीले दोस्रो हाफमा लगातार पोस्ट आक्रमण बने पनि गोलरक्षक विशाल सुनुवार बाधक बने ।  ५३ औँ मिनेटमा दिनेश हेन्जनको प्रहार दोस्रो बारबाट थोरै बाहिरिँदा आर्मीले बराबरीको सुन्दर मौका खेर फाल्यो । ६० औँ मिनेटमा दिनेशकै प्रहार गोलरक्षक विशालले बचाइ दिए ।

६९ औँ मिनेटमा सुदिल राईले बक्सभित्र पाएको सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा आर्मी बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आर्मीले बराबरी गर्ने अर्को सुन्दर मौकालाई बीबीसीका डिफेन्डर रन्दिप पौडेलले क्लियर गर्दै बराबरी टारे ।  दिनेश हेन्जनको हेडर रन्दिपले गोललाइनबाटै हेड गर्दै क्लियर गरिदिएका थिए । खेलमा निर्णायक गोल गरेका बीबीसीका विदेशी खेलडी उदे ग्लोरी नै खेलको म्यान अफ दी म्याच घोषित भए । अब बीबीसीले सेमिफाइनलमा पुलिस र च्यासल युथ क्लबीचको विजेतासँग मंसिर १० मा खेल्नेछ । पुलिस र च्यासलबीच ७ मंसिरमा क्वाटरफाइनल खेल हुनेछ ।

प्रतिक्रिया