सकियो कार्यशाला

दोलखा । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागको आयोजनामा चरिकोटमा भएको ६ दिने पौभा÷थांका कला कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको समापन कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य तथा शिल्पकला विभाग प्रमुख वुद्धि गुरुङ, कलाकार उदयचरण श्रेष्ठ भीमेश्वर नगरपालिककी उपमेयर कमला बस्नेत, सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कलाकार उदयचरण श्रेष्ठले कार्याशालाले कलाकारलाई काम गर्न उत्साह थपिदिएको बताए । उनले भने, ‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना भएदेखि यस्तो कार्यक्रम कहिल्यै भएको थिएन । पहिलोपटक गरिएको यस कार्यक्रमको अग्रसरताप्रति हामी आभार व्यक्त गर्न चाहन्छाँै ।’ भीमेश्वर नगरपालिककी उपमेयर कमला बस्नेतले यस कार्यक्रमका लागि दोलखालाई रोजेकोमा खुसी लागेको बताइन् । उनले भनिन्, ‘स्थानीय सरकारअन्तर्गत रहेका कला, संस्कृति र परम्परागत कुरालाई जगेर्ना गर्ने हाम्रो दायित्व रहन्छ । त्यसको संरक्षण र जगेर्ना गरी पछिल्ला पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमको निकै महत्व रहन्छ । हामी नेतृत्वमा रहँदासम्म यसको प्रयास सधैँ हुनेछ ।’

प्राज्ञ गुरुङले कलाकारले निरन्तर गरिरहेको कामभन्दा केही फरक काम गर्ने सोचअनुरूप कार्यक्रम गरिएको बताए । उनले भने, ‘हाम्रो देशको सबभन्दा बहुमूल्य कलाको रूपमा नेपालको परम्परागत कला रहिरहेको छ । देशका ख्यातिप्राप्त कलाकारलाई समेटेर यस कार्यक्रम गर्न निकै गाह्रो थियो तर कलाकारले सहज ढंगले भाग लिइदिनुभयो र कार्यक्रम सफल भयो ।’

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले कलाकारले सबैकुरा बुझ्ने तर कलाकारलाई कसैले नबुझ्ने गुनासो गरे । उनले भने, ‘कलाकारहरुलाई दोलखाले जसरी छोयो । त्यस भावलाई आफ्नो चित्रकलामा पनि उतारिदिनुहोला ।’

उनले दोलखालाई नेवारी सभ्यताको पुरानो बस्तीको रूपमा व्याख्या गर्दै नेपालमा सबैभन्दा पहिले चाँदीका सिक्काको प्रयोग दोलखाबाटै सुरु भएको जानकारी दिए ।

उक्त कार्यशाला अवधिभर सहभागी कलाकारको ‘अनुभव र अनुभूति’ कार्यक्रम पनि राखिएको थियो । ६ दिने कार्यशालामा लोक चित्रकार, उदयचरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजु, मुक्तिसिंह थापा, शंकरकुमार जोशी, सुन्दर सिंख्वाल, न्हुच्छेकाजी बज्राचार्य, रत्नगोपाल सिंख्वाल, देवेन्द्र सिंख्वाल, रामप्रकाश श्रेष्ठ, भूमिराज चौलागाईं, पाल्साङमो लामा, निमा लामा लगायतका कलाकार सहभागी थिए ।

प्रतिक्रिया