ब्रिसबेनमा नेपथ्य

काठमाडौं । अष्ट्रेलियाका विभिन्न स्थानमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेको नेपथ्यले ब्रिसबेनमा भव्य कन्सर्ट गरेको छ । अस्ट्रेलियाको तेस्रो ठूलो सहरका रूपमा परिचित ब्रिसबेनमा नेपथ्यको यो प्रस्तुति चौथो हो ।

‘माउन्ट ८८४८ इभेन्ट्स’ को आयोजनामा भएको उक्त कार्यक्रममा उल्लेख्य मात्रामा नेपालीको उपस्थिति रहेको थियो । इभेन्ट्सका टोली सदस्य सुनिल बस्नेतले ब्रिसबेनमा नेपाली कलाकारको यो आजसम्मकै ठूलो मात्र होइन सबैभन्दा व्यवस्थित प्रस्तुति भएको सुनाए । उनले भने, ‘यो सहरमा जति संख्यामा नेपालीहरूको बसोबास छ त्यसका हिसाबले यतिको दर्शक जुट्नु ठूलो सफलता हो ।’

एक दशकअघिसम्म मुस्किलले हजार नेपाली बसोबास गर्ने यो सहरमा पछिल्लो समय अध्ययन, रोजगारी तथा बसोबासका हजारौं नेपाली पुगेका छन् । यहाँ खुलेको ‘फोर्टिच्युड म्युजिक हल’ को क्षमता भरिने गरी दुई हजारभन्दा बढी दर्शक कार्यक्रममा उपस्थित भएको आयोजकले जनाएको छ ।

कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरी म¥यो’, ‘जोमसोमे बजारमा’, ‘यो जिन्दगानी’, ‘रेशम’ र ‘तालको पानी’ लगायतका गीत प्रस्तुत गरे । कार्यक्रमको बीच बीचमा गायक अमृतले भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरूले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शनहरू पनि बोकेका हुन्छन् ।’

उनले नयाँ एल्बमबाट ‘नैना ताल’ गीत समेत गाए । विश्वयुद्ध लड्न गोर्खा फौजमा गएका लाहुरेले त्यो बेला बनाएको यो गीतलाई गायक अमृतले सुनेकै भरमा निखारेर प्रस्तुत गरेका हुन् । कार्यक्रमको अन्त्य भने ‘रातो र चन्द्रसूर्जे’ बाट गरिएको थियो । नेपथ्यको अष्ट्रेलिया शृंखलालाई सिड्नीस्थित ‘नेपाली टच’ ले संयोजन गरिरहेको छ भने ब्रिसबेनको कार्यक्रम ‘माउन्ट ८८४८ इभेन्ट्स’ ले आयोजना गरेको थियो ।

नेपथ्यले यसपटक अष्ट्रेलियाका ६ वटा राज्यमा सांगीतिक यात्रा गर्दैछ । ब्यान्ड र व्यवस्थापनसहित उक्त टोलीमा १२ सदस्य रहेका छन् । टोलीमध्ये मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाइरहेका छन् ।

प्रतिक्रिया