गाउँपालिकामा पहिलोपल्ट घुम्ती शिविर

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुरा र स्वामीकार्तिक खापर गाउँपालिकाको समन्वयमा स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्र सुइजिउलामा दुईदिने एकीकृत घुम्ती शिविर सुरु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा बिहीबारदेखि सुरु भएको शिविरको बिहीबार बिहान एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले शुभारम्भ गरे ।

गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीको अध्यक्षतामा आयोजित एक कार्यक्रममा बुढीनन्दा नगरपालिका–३ का यस क्षेत्रकै होचा भनिएका पर्वलाल लुवारलाई नागरिकताको प्रमाणपत्र र ज्येष्ठ नागरिक गम्म नाथलाई चेकजाँचपछि औषधी दिएर शिविरको शुभारम्भ गरिएको हो ।

गाउँपालिकाले घुम्ती शिविरका लागि आग्रह गरेअनुसार जिल्ला प्रशासनले तयारी गरी शिविर सञ्चालन गरेकोप्रति आभार व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष शाहीले दुरदराज र कुनाकुनामा रहेका नागरिकले सेवा पाएको बताए । स्वामीकार्तिकले आयोजना गरेको शिविरले यस क्षेत्रका चार वटै स्थानीय तहका नागरिक लाभान्वित भएको भन्दै अध्यक्ष शाहीले आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गरिने बताए । अध्यक्ष शाहीले अब गाउँपालिकाले ज्येष्ठ नागरिकहरूका लागि वडावडामा शिविरको आयोजना गर्ने तयारी गरिरहेको समेत बताए ।

जिल्ला सदरमुकाममा गएर लामो समयदेखि विभिन्न कारणले विभिन्न सेवा लिन नपाएका व्यक्तिहरूलाई एकै ठाउँमा सबै प्रकारका सेवा दिनका लागि यो शिविरको आयोजना गरिएको स्वामीकार्तिक खापर गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले बताएका छन् । उनले शिविरमा नागरिकताका प्रमाणपत्र, अपांगता परिचय पत्र, स्वास्थ्य चाँज गरी औषधि वितरण, अन्य विभिन्न सेवा दिनका लागि शिविरको आयोजना गरिएको बताइएको छ ।

शिविरमा गाउँपालिकाका उपप्रमुख मिमा बुढा, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा.रुपचन्द्र विश्वकर्मा, स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकाया, वडाध्यक्षलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यसैगरी जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाउँपालिकाको समन्वयमा ०७६ १ देखि ३ मंसिरसम्म जगन्नाथ गाँउपालिकाको जुड्डीमा सञ्चालन भएको एकिकृत घुम्ती शिविर बुधबार सम्पन्न भएको छ । शिविरमा स्वास्थ्य परीक्षण, नागरिकता वितरण, पञ्जीकरण, अपांगता जाँच र परिचय पत्र वितरण, भिडियो एक्स–रे, कृषिको बिउ वितरण र भेटनरी सेवा उपलब्ध गराइएको थियो ।

घुम्ती शिविरका लागि मंसिर १ र २ गतेलाई तोकिए पनि सेवाग्राहीको चापका कारण एक दिन थप गरेर तीन दिन सञ्चालन गरिएको थियो । स्वामीकार्तिक खापर गाँउपालिका–१ र २ वडाका जनतालाई जुड्डीमा पायक पर्ने भएकोले जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाका सेवाग्राहीहरूलाई नागरिकता वितरण, स्वास्थ्य परीक्षणलगायत एकीकृत सेवा उपलब्ध गराइएको हो ।

जगन्नाथमा सम्पन्न शिविरमा ५ सय ९८ जनाको स्वास्थ्य परीक्षण १ सय २१ जनाको भिडियो एक्स–रे र ३२ जनाको ल्याब परीक्षण गर्नुका साथै डाक्टरको सल्लाहअनुसार बिरामीलाई औषधि वितरण गरिएको थियो । १ सय ४ जना अपांगहरूको स्वास्थ्य परीक्षण र निवेदनको आधारमा जगन्नाथ गाउँपालिकाको अपांगता भएका व्यक्तिहरूको परिचय पत्र वितरण कार्यविधि २०७६ अनुसार नेपाल सरकारले निर्धारण गरेका मापदण्डका आधारमा ५३ जना व्यक्तिलाई अपांग परिचय पत्र वितरण गरिएको थियो ।

घुम्ती शिविरमा ४ सय ६९ जनाले नागरिकता प्राप्त गरेका थिए । जसमा पुरुष १ सय ९० जना र महिला २ सय ७९ रहेका छन् । स्वामीकार्तिक खापर गाँउपालिका–१ र २ का १ सय ९ जनालाई नागरिकता वितरण गरियो । जगन्नाथ गाँउपालिका भित्रका ३ सय ५७ जनाले नागरिकता प्राप्त गरेका जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए । घर नजिकै सेवा प्राप्त गर्न पाउँदा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

शिविर व्यवस्थापनको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले गरेका थिए । समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले शिविर व्यवस्थित र मर्यादित रूपमा सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै शिविरमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला स्वास्थ्य कार्यालय बाजुरा, कृषि ज्ञान केन्द्र बाजुरा, रेडियो बुढीनन्दा, कार्यपालिका सदस्य, कर्मचारी र सम्पूर्ण सेवाग्राहीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया