मध्य चीनमा सञ्जाल जोड्दै हिमालय एयर

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंदेखि चीनको चान्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ । चान्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । नेपाल भ्रमण वर्ष २०२० सुरु हुनु अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरूको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो नयाँ सेवाका साथ नेपालीहरू सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् । गुइयाङको ठीक पछि, हिमालयले काठमाडौं र चान्सा बीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ ।

प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चान्सा चीनकै प्रमुख पर्यटकीय सहरमध्येको एक हो । हिमालय एअरलाइन्सको विमानले हरेक बुधबार काठमाडौंबाट चाञ्सका लागि उडान भर्नेछ र सोही दिन फर्केने छ । हिमालय एअरलाइन्स यी दुई सहरबीच सिधा उडान गर्ने एक मात्र एअरलाइन्स हो । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंसिर ४ गते स्थानीय समय ११ः०३ मा चांसाका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चान्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ ।

आवागमन उडान चान्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ । काठमाडौं–चान्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउने कम्पनीको दाबी छ ।

प्रतिक्रिया