घरबेटी फेर्नोस् प्रचण्डज्यू

सरकारले भक्तपुरको कमल विनायकदेखि नगरकोटसम्मको करिब किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिका लागि ०७१ सालमा शैलुङ कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिएको थियो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी दिइएको यो जिम्मेवारी शैलुङ कन्स्ट्रक्सन कम्पनीले अझै पूरा गरेको छैन । पाँच वर्षको यो अवधिमा चारपटक म्याद थप गरिसकिएको छ । तर, निर्माण सुरु नगरिएपछि स्थानीय जनता आन्दोलिन बनेका छन् । उनीहरूले गत साता ठेकेदार कम्पनीका मालिक शारदा अधिकारीको फोटो राखेर पोस्टर बनाई यत्रतत्र टाँसेको थियो । यो घटनापछि ठेकेदार कम्पनीले १०–१२ जना कामदार तथा एक दुईवटा उपकरण सडकमा उतारेको छ । अन्तिमपटक प्रदान गरिएको सम्झौताको म्याद आगामी जेठमा सकिँदैछ, तर सडक निर्माणको गति हेर्दा जेठभित्र सम्पन्न हुने लक्षण छैन । सडकको दुर्दशाका कारण अहिले कमल विनायकबाट नगरकोटसम्मको दूरी पार गर्न डेढ घण्टा समय लाग्ने गरेको छ । नगरकोट भनेको राजधानी काठमाडौं उपत्याकाको सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको छ । ०२० आउन अब एक महिना बाँकी छ, तर राजधानी काठमाडौं उपत्यकाको सबैभन्दा नजिकको मुख्य पर्यटकीय गन्तव्य स्थल नगरकोट पुग्ने सडकको दुर्दशा ज्यादै कहालीलाग्दो अवस्था छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाईसमेत तुहाउने गरी सडक निर्माणको काम अलपत्र पार्दा पनि उन्मुक्ति पाउने ठेकेदार शारदा अधिकारी को हुन् ? उनको पहुँच कति होला ? भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । उनी हुन्– सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी । प्रचण्डा घरभेटी भएकै कारण राजधानी काठमाडौं उपत्यकाका करिब ६० प्रतिशत सडक विस्तारको ठेक्का अधिकारीले पाएका छन् । ती सबैजसो काम वषौंदेखि अलपत्र छन् । ठेक्का ओगट्ने तर कामअघि नबढाउने निर्माण व्यवसायी माथि सरकारले कारवाही गरेको पनि छ, तर अधिकारीले उन्मुक्ति पाएका छन् । प्रचण्डको घरबेटी भएकै कारण उनले उन्मुक्ति पाएका हुन् या उनको कम्पनीमा प्रचण्डको पनि सेयर छ ? भन्ने प्रश्न आम सर्वसाधारणले गर्न थालेका छन् । उनको आर्थिक हैसियत थाह पाउनेहरू पनि प्रचण्डको सेयर रहेको बताउँछन् । उनीहरू भन्छन्– ‘माओवादीका भगौडा कार्यकर्ता अधिकारी शान्ति प्रक्रिया सुरु नहुँदासम्म गोंगबुको एउटा सानो घुम्ती टहरोमा फोटोकपी मेसिन राखेर बसेका थिए, तर यो १३ वर्षको अवधिमा अबौँ सम्पत्तिका मालिक कसरी बने ?

ठेकेदार अधिकारीले गरेको यो लापरबाहीले केपी शर्मा ओली सरकारको साख त घटेको छ नै स्वयं अध्यक्ष प्रचण्डको उचाइ पनि घटेको छ । कि त ठेकेदार अधिकारी माथि कारबाही गर्न प्रचण्ड तयार हुनुप¥यो होइन भने घरबेटी परिवर्तन गर्नुपर्यो । संदिग्ध व्यक्तिको घरमा बस्दा कसरी राजनीतिक उचाइ घट्छ ? भन्ने पाठ प्रचण्डले सन्त नेता कृष्णप्रसाद भट्टराईबाट सिक्नुपर्ने हो । जब उनी शरतसिंह भण्डारीको घरमा बसे तब उनको उचाइ लगातार घट्न थाल्यो, यद्यपि, उनले आफ्नो शक्तिको दुरुपयोग गर्न भण्डारीलाई दिएका थिएनन् । तर, अहिले त ठेकेदार अधिकारीले प्रचण्डको शक्ति सिधै दुरूपयोग गरेको देखिएको छ । कुनै पनि वेला मुलुकको बागडोर सम्हाल्ने गरी पाइपलाइनको पहिलो नम्बरमा बसिरहेका प्रचण्डले द्रव्यमोह त्याग्नै पर्छ । आँफूले सांसदको रूपमा तलब भत्ता पाइरहेकै छन् । बुहारी मन्त्री छिन्, छोरी महानगरपालिकाकी मेयर छन्, ज्वाइँहरूले पनि योग्यताभन्दा बढी नै राजनीतिक नियुक्ति पाएका छन् । नातिनीहरूसमेत कमाउने भइसके । यस्तो अवस्थामा पनि द्रव्यमोहलाई प्राथमिकता दिनु प्रचण्डको हितमा छँदै छैन । सिंगो काठमाडौंको तिर्खा कालोसूचीका ठेकेदारका हातमा पुग्नुको कारण घरभाडाबापतको शोधभर्ना पो हो कि, भन्ने आशंका जनताले गर्न थालिसके । जनताका आशा अनुरूप ओली सरकारले काम गर्न नसक्नुमा पहिलो कारण प्रचण्डका घरभेटी हुन्, दास्रो कारण प्रचण्डकी बुहारी हुन्, जसले ५० लाख काठमाडौंवासीको तिर्खालाई ठेकेदारसँग साटिन् । तेस्रो कारण गृहमन्त्री हुन्, चौथो कारण उर्जामन्त्री, पाँचौ कारण शिक्षामन्त्री, छैठौँ कारण वनमन्त्री र सातौँ कारण उद्योगमन्त्री हुन् । यस विषयमा प्रधानमन्त्री ओली र सिंगो नेकपाको पार्टी पंक्ति गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया