दुर्गममा पठाएको खाद्यान्न बीच बाटोबाटै गायब

मुगु । नेपाल सरकारले नेपाल खाद्य संस्थानमार्फत दुर्गमका गाउँवस्तीका नागरिकका लागि पठाएको खाद्यान्न गाउँमा नपुगी बीच बाटोमा नै हराउने गरेको पाइएको छ ।

हुम्ला जिल्लाको सर्केगाड वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थान सुर्खेत र नेपाल खाद्य संस्थान मुगुको गमगढी वितरण केन्द्रबाट सर्केगाढतर्फ पठाइएको खाद्यान्न सम्बन्धित स्थानमा नपुगेपछि स्थानीयवासी खाद्यान्न जोहो गर्न मुगुको सोरु गाउँपालिका–८ मा रहेको तारापानी बजार र गमगढीमा पुग्ने गरेका छन् ।

नेपाल खाद्य संस्थानको सहुलियत दरको खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारहरूले सम्बन्धित वितरण केन्द्रमा खाद्यान्न नपु¥याएपछि स्थानीयवासीले भेडाच्याँग्रासहित हप्तौँ दिन लगाएर मुगु सदरमुकाम गमगढी र आसपासका बजारमा पुगेर खाद्यान्न लिनुपर्ने बाध्यता रहेको हुम्लीवासीले बताएका छन् । नेपाल खाद्य संस्थानको सर्केगाड डिपोबाट वर्षमा एकपटक मुस्किलले ३० केजीको एक प्याक चामल मात्र पाउने गरेको उनीहरूले गुनासो गरेका छन् ।

सर्केगाड गाउँपालिका–३ उनपानी गाउँका दिलबहादुर फडेरा दसैँतिहारमा समेत ठेकेदारले चामल नल्याएपछि मुगुको सोरु गाउँपालिका–८ मा पर्ने तारापानी बजारमा पुगेर निजी पसलबाट खाद्यान्न लिएर गए । खाद्यमा भए १ हजार ५ सयमा पाउने ३० केजीलाई १ हजार ६ सय ८० रुपैयाँमा तिरे । ‘आउन जान १० १० दिन लाग्छ यसलाई पनि जोड्दा उक्त ३० केजी चामलको तिन हजारदेखि ३५ सय पर्न गयो’, फडेराले भने ।

त्यस्तै उनीसँगै खाद्यान्न लिन आएका उनपानीकै वीरबहादुर फडेराले गाउँमा अन्य खाद्यान्न बाली उत्पादन हुने भए पनि चामल अभाव हुने र सरकारले पठाएको चामल वर्षमा एक प्याक पाउन पनि मुस्किल हुने भएकाले खसी ल्याएर चामल लिन मुगु आएको बताए । सरकारले चामल पठाउँछ भन्छन् तर खाद्य संस्थानको सर्केगाड डिपोमा पुग्दा जहिले पनि रित्तो हात फर्किनु परेको उनले बताए ।

यता खाद्य संस्थान मुगुले सर्केगाडका लागि एक हजार क्विन्टल खाद्यान्न पठाउने बताए पनि अहिलेसम्म ढुवानी ठेकेदार सम्पर्कमा नआएको जनाएको छ । हरेक वर्ष खाद्य संस्थानले सर्केगाडका लागि खाद्यन्न पठाएको छ । तर, जनताले पाएको भन्ने विवरण आएपछि ढुवानी रकम ठेकेदारले बुझेर लिए पनि गाउँमा खाद्यान्न पुगेको पाइँदैन ।

त्यस्तै यो आवका लागि हुम्लाको सर्केगाडमा सुर्खेतबाट सोझै हजार क्विन्टल ढुवानी भई जाने भएको भए पनि खाद्यान्नको विषयमा गमगढी वितरण केन्द्रलाई जानकारी नभएको संस्थानले जनाएको छ । गमगढीबाट यो वर्ष हुम्लाको सर्केगाडमा एक हजार खाद्यान्न ढुवानी गर्ने भनिएको भए पनि ठेकेदार नआउँदा ढुवानी नभएको खाद्य संस्थान मुगुका प्रमुख कर्णबहादुर रावलले बताए ।

यसैबीच दसैँतिहार र बाटोका कारण आपूmले खाद्यान्न सर्केगाडमा लैजान नसकेको हलुका जवाफ ढुवानीको जिम्मा लिएका ठेकेदार ओम जय दुर्गी जनरल अडर सप्लायर्सका दुर्गबहादुर बुढाले बताए । आपूmले गमगढीदेखि सर्केगाडसम्म एक हजार क्विन्टल खाद्यान्न ढुवानी गर्ने जिम्मा पाएको र अबको केही दिनमा ढुवानी सुरु हुने उनले जानकारी दिए ।

प्रतिक्रिया