भारतले नक्साबाट लुकायो काली नदी

काठमाडौं । भारतले पछिल्लो पटक जारी गरेको राजनीतिक नक्साबाट काली नदी पुनः हटाएको छ । १७ कात्तिकमा जारी गरेको नक्सामा काली नदी स्पष्टरूपमा देखाइएको छ । तर, पछिल्लो पटक त्यसलाई लुकाएर पुनः नयाँ नक्सा जारी गरिएको छ ।

भारतको आधिकारिक नक्सा जारी गर्ने डब्लुडब्लुडब्लु डट सर्वेअफइन्डिया डट जिओभी डट कम नामक बेवसाइटबाट काली नदी देखाइएको नक्सा हटाइएको छ । पछिल्लो पटक अपडेट गरिएको नक्सामा सो नदी देखाइए पनि नाम भने हटाएको छ । राजनीतिक नक्सामा नेपालको भूभाग कालापानी पनि समेटेपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले भारतलाई त्यहाँबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरिसकेका छन् । तर, सो नक्सा जारी गर्दा काली नदी पनि देखाइएपछि सो भूभाग नेपालको हो भनेर उसले स्वीकार गरिसकेको छ ।

१८१६ मा भएको सुगौलीसन्धिले काली नदीको पश्चिमको भाग नेपालको अधीनमा नहुने भनेर स्पष्ट गरेको छ । कालापानी र लिपुलेक आफ्नो भूभागमा समेट्न खोजेको भारतले त्यो तथ्यलाई भुलेपछि काली नदी उल्लेख गरेको थियो । तर, नेपालमा तीव्र विरोध भइरहँदा भारतले त्यसलाई सच्याएको हो । पुराना सन्धि र उपलब्ध प्रमाणले नेपाल र भारतबीचको सिमाना पार्वतीकुण्ड मुहान भएको त्यही काली नदी रहेको उल्लेख छ ।

सुगौली सन्धिको धारा ५ मा ‘नेपालका श्री ५ महाराजधिराज मौसुफ स्वयंका लागि मौसुफका उत्तराधिकारी वा वारिसहरूका लागि काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्पूर्ण दाबीहरू परित्याग गरिबक्सिन्छ र ती देश वा तिनका बासिन्दासित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन ।’ भनी सन्धिमा हस्ताक्षर गरिएको छ । जसले गर्दा काली नदी नै सिमाना भएको प्रस्ट हुनेछ । जसअनुसार काली नदी वारीका नावी, गुन्जी र गब्रुयाङ गाँउ नेपालमै पर्दछन् । जसलाई अहिले भारतले आफ्नो भएको दाबी गर्दै आएको छ ।

कालीको उद्गमस्थल लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३८५ वर्ग किलोमिटर नेपाली भूमि भारतीय अतिक्रमणको चपेटामा परेको छ । ऐतिहासिक तथ्य प्रमाण, नापनक्सा, जलविज्ञानको आधारमा कालीको उद्गमस्थल लिम्पियाधुरापूर्वको सम्पूर्ण भूभाग नेपालको हो । लिम्पियाधुरा कालीको उद्गम देखाउने नापनक्सा, तथ्यप्रमाण, पत्राचार, तिरोतिरान, लालमोहर, इस्तिहार र सनदहरू प्रमाणका रूपमा रहँदा रहँदै पनि भारतले काली नदीको मुहानबारे भ्रम सिर्जना गरी भारतले लिम्पियाधुरापूर्वको ३८५ वर्ग किलोमिटर भूभाग अतिक्रमण गरेको छ । कालापानीस्थित सानो पानीको मूल जुन मूलबाट पानी आउँछ सो मूलको पानीलाई पोखरीमा जम्मा गरी त्यहाँबाट पानी नहरद्वारा बायाँतर्फ नदीमा पठाई सोही मूललाई भारतीयहरूले महाकालीको मूल भनी भ्रम छर्ने कुप्रयास गरेका छन् ।

प्रतिक्रिया