साढे चार लाख मेट्रिक टन धान उत्पादन

भीमदत्तनगर । यस वर्ष कैलाली र कञ्चनपुरमा गरी साढे चार लाख मेट्रिक टन धान उत्पादन भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र भीमदत्तनगरले कैलालीमा तीन लाख ३३ हजार ७०० र कञ्चनपुरमा एक लाख ३० हजार ७२० मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगत वर्षको तुलनामा यस वर्ष पनि धान उत्पादन भएको बताए ।

‘समयमा वर्षा नहुनुका साथै किसानले लगाएको गरिमा जातको धान नफल्दा धान उत्पादन घट्ने अनुमान गरेका थियौ’, उनले भने, ‘तर गत वर्षकै तुलनामा उत्पादन भयो ।’ सुदूरपश्चिम प्रदेशकै अन्न भण्डार मानिने कैलालीमा ७१ हजार हेक्टर र कञ्चनपुरमा ३८ हजार हेक्टरमा धान उत्पादन हुँदै आएको भट्टको भनाइ छ । ‘दुवै जिल्लामा गरी करीब ४० प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा छ’, भट्टले भने, ‘अझै धेरै किसानले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।’ त्यसैगरी कैलाली र कञ्चनपुरमा करीब ७०० हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा जातको धान नफल्दा किसान मर्कामा परेका छन् ।

‘हामीले तथ्याङ्क सङ्कलन गरेर माथि पठाइसकेका छौं’, ज्ञान केन्द्रका प्रमुख भट्टले भने, ‘बीउबिजन समितिले सिफारिससहित प्रतिवेदन सरकारलाई बुझाउने भनेको छ ।’ उनले यहाँका पीडित किसानलाई राहत दिने विषयमा सरकारले निर्णय गर्ने बताउनुभयो । कञ्चनपुरमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले महाकाली सिँचाइ आयोजना तेस्रो चरण र कैलालीमा रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको निर्माण भइरहेको छ । कैलाली सुदूरपश्चिमको मात्रै नभई मुलुककै प्रमुख अन्न उत्पादन हुने जिल्लामा पर्छ ।

प्रतिक्रिया