अनुदानमा आलुको बीउ वितरण

दमौली । जिल्लाको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको हो । नगरपालिकाका १४ वटै वडाका करिब ३ सय कृषकलाई १६ हजार ५ सय केजी आलुको बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । कृषि शाखाले जनकदेव र एमएस जातको आलुको बीउ वितरण गरेको छ । प्रतिकेजी ५८ रुपैयाँ पर्ने जनकदेव आलुलाई २९ मा र प्रतिकेजी ६०रुपैयाँ पर्ने एमएस आलुलाई ३० मा वितरण गरिएको वाग्लेले जानकारी दिए ।

‘अनुदानमा आलुको बीउ वितरणका लागि सूचना निकालेका थियौँ’, वाग्लेले भने, ‘कृषकको मागबमोजिम अनुदानमा बीउ बाँडेका हौँ ।’ नगरपालिकाले काभ्रेबाट आलुको बीउ खरिद गरी ल्याएको हो । नगरपालिकाले वितरण गरेको आलुको बीउ करिब एक सय ८३ रोपनी क्षेत्रफललाई पुग्छ । नगरपालिकाको करीब पाँच-छ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको अनुमान छ । बीज भण्डारबाट पनि कृषकले आलुको बीउ खरिद गरेर लैजाने हुनाले कति क्षेत्रफलमा आलुखेती हुन्छ भन्ने आधिकारिक तथ्यांक भने नगरपालिकासँग नरहेको वाग्लेले बताए । ‘आलुखेतीमा कृषकलाई आकर्षित गर्न र आलुमा आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको हो’, वाग्लेले बताए ।

यसैगरी कृषि शाखाले च्याउ, हाते ट्याक्टर, साना सिँचाइ, मौरीगोला तथा घार, तरकारी खेतीका लागि प्लाष्टिक टनेललगायत पनि अनुदानमा वितरण गर्ने तयारी गरेको छ । व्यास नगरपालिका–८ जलेश्वर टोल विकास संस्थाका अध्यक्ष धर्मराज मिश्रले ६ सय केजी आलुको बीउ माग गरिएकामा तीन सय केजी मात्रै पाएको बताए । टोल विकास संस्थामार्फत ६० कृषकले आलुको बीउ खरिद गरेका छन् । समूहमार्फत आलुको बीउ खरीद गरे पनि यहाँका कृषकले भने छुट्टाछुट्टै रूपमा आलुखेती गर्दै आएको मिश्रले जानकारी दिए ।

व्यास नगरपालिका–१० खहरेस्थित मादीगङ्गा महिला बहुउद्देश्यीय सहकारीअन्तर्गत महिला समूहले ९०० केजी आलुको बीउ खरीद गरेको समूहका अध्यक्ष चिजा सापकोटाले जानकारी दिनुभयो । समूहले दुई वर्षदेखि १५ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गर्दै आएको छ । गत वर्ष छ बोरा बीउ लगाएकोमा २४ बोरा आलु उत्पादन भएको समूहका सदस्य सान्नानी बगालेले बताउनुभयो । गत वर्ष उत्पादित आलु समूहका ६० सदस्यलाई नै वितरण गरिएको थियो । ‘अब यो वर्षदेखि उत्पादित आलु बिक्री वितरण गर्ने सोच बनाएका छौ’, बगालेले भने ।

प्रतिक्रिया