भारततर्फ तस्करी हुँदै सुक्खा खजुर

जनकपुर । पाकिस्तानबाट आयात गरिएको सुक्खा खजुर (छोकडा) को भारततर्फ तस्करी बढेको छ । मुलुकका विभिन्न भन्सार नाकाबाट आयात भइरहेको खजुर तस्करीको बाटो भारत जान थालेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो चौमासिकमा करिब डेढ अर्ब मूल्यको १८ हजार टन खजुर आयात भएको छ । विभागका निर्देशक शिशिर घिमिरेले भारतसँग सीमा जोडिएका तराईका पाँच मुख्य भन्सार नाकाबाट पाकिस्तानी खजुर आयात भइरहेको बताए । खजुर आयातबापत साढे ३२ करोड रुपैयाँ राजस्व असुली भएको बताइएको छ ।

चार महिनामा वीरगञ्ज नाकाबाट सबैभन्दा बढी ७० करोड १७ लाख रुपैयाँको ८१ लाख ८ हजार १ सय २५ किलो खजुर आयात भएको छ । यस्तै सुख्खा बन्दरगाहबाट ५१ करोड ८४ लाख ३ हजार ६ सय ६ रुपैयाँको ७४ लाख २५ हजार २३ किलो भित्रिएको छ । नेपालगञ्ज नाकाबाट ३० लाख ४८ हजार रुपैयाँ बराबरको ५ लाख ८५ हजार ५ सय ४ किलो भित्रिएको छ ।

पूर्वका मुख्य भन्सारहरू विराटनगर र मेचीबाट समेत उल्लेख्य मात्रामा खजुर आयात भएको देखिएको छ । विराटनगरबाट १५ करोड ३७ लाख ९५ हजार ९ सय ५५ रुपैयाँ मूल्यको १७ लाख ३४ हजार ७ सय ९० किलो आयात भएको विराटनगर भन्सारका सूचना अधिकारी मनिराम पौडेलले जानकारी दिए । मेची भन्सारबाट अढाई करोडभन्दा बढी रुपैयाँको ३ लाख १२ हजार ३ सय ५० किलो खजुर आयात भएको छ ।

भन्सार विभागका अनुसार पाकिस्तानबाट अन्य सामान बाक्लै आयात भए पनि खजुर भने पहिलो पटक भित्रिएको हो । सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार गत साउनदेखि नै छोकडा आउने क्रम जारी छ । उनी भन्छन्, ‘थेग्नै गाह्रो हुने गरी आएको आएकै छ ।’

त्यसैगरी गत कार्तिक २५ गते बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले करिब १५ क्विन्टल छोकडा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले छोकडा बरामद गरेको हो । केही तस्करले रातिको मौका छोपी छोकडाको तस्करी गरिरहेको विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट गोलागञ्जबाट सशस्त्र प्रहरी निरीक्षक कबीर मलको कमान्डमा खटिएको टोलीले छोकडा बरामद गर्न सफल भएका हुन् । एघारओटा साइकलमा लोड गरी भारततर्फ लगिरहेको अवस्थामा करिब १५ क्विन्टल छोकडा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक मलले जानकारी दिए ।

भन्सार विभागले आयातलाई निरुत्साहित पार्न मूल्यांकन वृद्धि गरी प्रतिकिलो ४५ रुपैयाँ कायम गरेपछि सुपारीको आयात अहिले गिर्दो छ । सुपारीको आयात घटेसँगै देशका विभिन्न नाकाहरूबाट पाकिस्तानी छोकडाको आयात बढेको छ । खजुरअघि मरिच र केराउको आयात पनि बढेको थियो । भन्सार विभागका अनुसार छोकडा आयातमा १० प्रतिशत भन्सार शुल्क, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट गरेर २८ प्रतिशत ड्युटी लाग्छ । नेपाल आइपुग्दा प्रतिकिलो एक सय १० रुपैयाँ खर्च पुग्छ । यही वस्तु भारत पु¥याउँदा भने दोब्बर नाफा हुन्छ । भारतमा हाल छोकडा प्रतिकिलो दुई सय ६० (नेरु) मा बिक्री भइरहेको छ । पाकिस्तानमा छोकडाको खुद्रा मूल्य प्रतिकिलो ५० रुपैयाँ पर्छ । एक कारोबारीका अनुसार सुरक्षा निकाय, भरिया, ढुवानीलगायत खर्च कटाएर पनि प्रतिकिलो सय रुपैयाँ जति ‘मार्जिन’ बस्छ ।

पाकिस्तानका चारवटै प्रान्तमा करिब ७५ हजार हेक्टरको क्षेत्रफलमा यसको खेती गरिएको छ  । पाकिस्तानमा वार्षिक ५ लाख ५० हजारदेखि ६ लाख ५० हजार टनसम्म उत्पादन हुने गरेको छ । कुल उत्पादनको करिब ५ प्रतिशत स्वदेशमा खपत हुन्छ । ५ प्रतिशत बेलायत, टर्की, जर्मनी, बंगलादेशलगायत मुलुकमा निर्यात हुन्छ । बाँकी ९० प्रतिशत भारत निर्यात हुन्थ्यो । भारत–पाकबीचको सम्बन्ध चिसिएपछि भारत पठाउने छोकडा पाकिस्तानले नेपाल पठाइरहेको छ ।

प्रतिक्रिया