पुस्तक प्रदर्शनी

काठमाडौं । पठन संस्कृतिको विकास गर्ने लक्ष्य राखेर एक महिने पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदर्शनीको आयोजना गर्दै सहुलियत रूपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्य राखेको जनाएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले सबै पुस्ताका पाठकको रुचिलाई ध्यानमा राखेर प्रदर्शनी गरिएको बताए । उनले प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक देश विदेशमा जानुपर्छ भनी सहुलियतरूपमा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाए । उनले भने, ‘प्रदर्शनीले पुस्तकको गरिमालाई व्यापकता दिने विश्वास लिएका छौँ ।’

वार्षिक कार्यक्रमअन्तर्गत १ मंसिरदेखि सुरु भएको प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पाँच सयभन्दा बढी पुस्तक र सयभन्दा बढी पत्रिका सहुलियत मूल्यमा खरिद गर्न सकिने प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिए । उनले पछिल्लो समय पठन संस्कृतिमा ह्रास आइरहेकाले पुस्तक प्रदर्शनी गरिएको बताए ।

सदस्य सचिव उपाध्यायले भने, ‘समाज, संस्कृति, साहित्य, दर्शन, ज्ञान र विज्ञान लगायतका विविध विषयमा लेखिएका पुस्तक प्रदर्शनी राखिएको छ । पुस्तकले ज्ञानको दायरालाई फराकिलो बनाई मानव समाजमा सकारात्मक प्रभाव ल्याउने भएकाले प्रदर्शनी गरिएको हो ।’ प्रदर्शनीका संयोजक सुधीर ढुंगेलका अनुसार प्रदर्शनीमा दुईदेखि एक हजार चार सय रुपैयाँसम्मका पुस्तक राखिएको छ ।

प्रदर्शनीमा दुई रुपैयाँको ‘काव्य अर्चना’ र एक हजार चार सय रुपैयाँको ‘प्रज्ञा–नेपाली–अंग्रेजी शब्दकोश’ छन् । यसैगरी पछिल्लो समय बजारमा आएका डा. बद्री पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगत्प्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गरेको ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बु लगायतले सम्पादन गरेको ‘अन्तरदेशीय नेपाली कथाहरू’ पनि प्रदर्शनीमा छन् ।

१५ देखि ६० प्रतिशतसम्मको छुट दिएर पुस्तक बिक्री भइरहेको छ । प्रतिष्ठानका अनुसार यही मंसिर मसान्तसम्म आयोजना गरिएको प्रदर्शनीप्रति पाठकको रुचि बढेमा पृथ्वीजयन्तीसम्म अर्थात् २७ पुससम्म विस्तार गर्न सकिने संयोजक ढुंगेलले बताए । प्रदर्शनीमा प्रकाशन मितिदेखि वि.सं २०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका समकालीन साहित्य, प्रज्ञा, सयपत्री, कवितालगायतका पत्रिका पाँच रुपैयाँमै उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया