नेपालको साँघुरो हार

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल १–० ले पराजित भएको छ । भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुआतदेखि नै नेपालमाथि दबाब दिएको कुवेतले दुई वटा उत्कृष्ट मौकापछि गोल गर्न सफल भएको थियो । त्यसो त नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । २३औँ मिनेटमा सुजल श्रेष्ठले मिलाइदिएको पासमा अविशेक रिजाल डिबक्स भित्र चुक्न पुगे । तर २८औँ मिनेटमा नेपालले गोल खान पुग्यो ।

कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् । त्यसपछि ३६औँ मिनेटमा कुवेतले फेरि अर्को मौका पाएको थियो । उसका अल रेसादीले हेडको प्रयास फ्रेममा रहन सकेन । त्यसपछि ३९औँ मिनेटमा कुवेतले अर्को अवसरको सिर्जना गरेको थियो । तर, डिबक्स भित्रबाट फैसलले गरेको प्रहार फ्रेम बाहिर गयो ।

कुवेतविरुद्ध मुख्य चार जना खेलाडीलाई बर्खास्त गरेर भुटान पुगेको नेपालले ४१औँ मिनेटमा निकै राम्रो मौका पाएको थियो । तेज तामाङको कर्नरबाट आएको बललाई रोहित चन्दले प्रहार गरेका थिए । तर, त्यो प्रहार पोलमा लागेर फर्कियो । त्यसपछि तेजले नै प्रहार गर्दा पोस्टमाथिबाट बाहिरियो । जसका कारण नेपालले पहिलो हाफमा एक गोलले पछि पर्न गयो ।

 

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन । त्यसको विपरीत कुवेतले ७८ औँ मिनेटमा अर्को अवसर पाएको थियो । जसलाई किरण चेम्जोङले मुस्किलले बचाए । ८८औँ मिनेटमा कुवेतले अर्को गोलको अवसर सिर्जना गरेको थियो । उसका अल सलमानले गरेको हेडको प्रयास पोस्ट नजिकैबाट बाहिरीयो ।

खेलको ९०औँ मिनेटमा कुवेतले फ्रिकिकको मौका पाएको थियो । उसका कप्तान बदरको प्रहारलाई किरण चेम्जोङले बचाए । त्यसपछि नेपालले एउटा प्रहार गर्दा त्यसमा कुवेती गोलकिपर बाधक बने । यो जितले कुवेतको पाँच खेलमा १० अंक भएको छ भने नेपालको पाँच खेलमा तीन अंक छ । यसअघि नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो ।

प्रतिक्रिया