बौद्धनाथ विवाद समाधान गर्न समिति

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रतिनिधि, गुठी संस्थान र पुरातत्व विभागका प्रतिनिधि सदस्य छन् । समितिलाई बौद्ध घ्याङ गुठीका चिनियाँ लामा विवादलगायत विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको समिति सदस्य एवं गुठी संस्थानका उपप्रशासक हरिप्रसाद जोशीले जानकारी दिएका छन् ।

संस्कृति मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा बौद्ध क्षेत्रमा क्रियाशील संस्थाले हाल बौद्ध घ्याङ गुठीका चिनियाँ लामा भूपतिबज्र लामालाई बौद्ध क्षेत्र प्रवेशमै रोक लगाएपछि विवाद सार्वजनिक भएको थियो ।

चिनियाँ लामाको नागरिकता लगायत विषयमा पनि विवाद उठेको छ । विवादपछि बौद्धनाथ क्षेत्र विकास समिति लगायत संस्थाले पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने गरी जिम्मेवारी दिएको थियो ।

चिनियाँ लामाको विरोधमा संघर्ष समितिसमेत गठन गरिएको थियो । खड्गजीत लामाको संयोजकत्वमा दशैँअघि संघर्ष समिति बनाई विरोध भएको थियो । विरोधका क्रममा चिनियाँ लामालाई गुठी प्रवेशमा रोक लगाइएको थियो । यसअघि भूमि मन्त्रालयका उपसचिव नीरज पौडेलको संयोजकत्वमा पनि बौद्धको चिनियाँ लामा विवाद सम्बन्धमा छानबिन गर्न समिति गठन भएको थियो । समितिले प्रतिवेदन दिन नसकेपछि अर्को समिति गठन गरिएको हो ।

प्रतिक्रिया