स्टेफानोस एटिपी फाइनल्स च्याम्पियन

एजेन्सी, लन्डन । ग्रिक खेलाडी स्टेफानोस सिट्सिपासले लन्डनमा सम्पन्न एटिपी फाइनल्सको उपाधि जितेका छन् ।  फाइनलमा अस्ट्रियाका डोमिनिक थिमलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै सिट्सिपासले उपाधि जितेका हुन् । २१ वर्षे सिट्सिपासले एक सेटले पछि परेको अवस्थामा पछिल्लो दुई सट जित्दै पछिल्लो १८ वर्षमा एटिपी फाइनल्स जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । पहिलो सेटमा ६–७(६–८) को पराजय भोगेका सिट्सिपासले उत्कृष्ट कम ब्याक गर्दै पछिल्लो दुई सेट जितेका थिए ।

बेस्ट अफ थ्रीको पछिल्लो दुई सेटमा सिट्सिपास ६–२ र ७–६(७–४) ले विजयी भएका थिए । ओटू एरेनामा दुई घण्टा ३५ मिनेट चलेको खेलमा जित हात पारेपछि सिट्सिपासले दुई मिलियन पाउन्ड पुरस्कार जितेका छन् । ‘यो ट्रफी उचाल्न पाउँदा अभूतपूर्व आनन्द भएको छ’ उपाधि जितेपछि सिट्सिपासले भने ‘यसरी खेल जितेर उपाधि उचाल्दा सपना पूरा भएको छ ।’

स्पेनिस स्टार राफाइल नाडलले सोमबार पाँचौंपटक विश्व नम्बर एक भएर एटिपी सिजनको अन्त्य गरेका छन् ।  नाडलले लन्डनमा सम्पन्न गत एटिपी फाइनलमा समूहचरण पार गर्न नसके पनि शीर्ष स्थानका अर्का प्रतिद्वन्द्वी नोभाक जोकोभिच सेमिफाइनलको यात्रा तय गर्न नसकेपछि यस सिजनको अन्त्यमा स्पेनिस स्टार विश्व नम्बर एक रहने पक्का भएको थियो । यस सिजनको अन्त्य हुँदा नाडलले ९ हजार ९ सय ८५ अंक बनाएका छन् । जुन सर्बियन स्टार जोकाभिचभन्दा ८ सय ४० अंक बढी हो ।

यो सफलतासँगै नाडलले जोकोभिच र रोजर फेडेररको पाँचौंपटक विश्व नम्बर एक भएर सिजन अन्त्यको रेकर्ड बराबरी गरेका छन् । यद्यपि, उनी पेट सम्प्रासको रेकर्डभन्दा एकले पछाडि छन् । अमेरिकी स्टार सम्प्रास सर्वाधिक ६ पटक सिजनको अन्त्यमा विश्व नम्बर एक भएका छन् । यद्यपि, नाडल र जोकोभिचले यस सिजन समान दुई ठूला प्रतियोगिताको उपाधि पनि आफ्नो बनाएका छन् ।

यस सिजन जोकोभिचले अस्ट्रेलियन ओपन र विम्बल्डनको उपाधि जित्दा नाडलले रोलान्ड गारोस(फ्रेन्च ओपन) र युएस ओपनको उपाधि उचाले । स्विस स्टार फेडेररले भने लगातार दोस्रोपटक विश्व नम्बर तीनका रूपमा सिजनको अन्त्य गरे । गत अगस्टमा ३८ वर्ष लागेका फेडेरर यस सिजन ठूला प्रतियोगिता जित्नबाट चुके ।

उनी यस सिजन फ्रेन्च ओपनको सेमिफाइनलमा पुग्दा नाडलसँग स्तब्ध भएका थिए । युएस ओपन पनि फेडेरर अन्तिम आठभन्दा माथि पुग्न असफल भएका थिए । त्यस्तै, विम्बल्डनको फाइनलमा पनि फेडेरर जोकोभिचसँग स्तब्ध भएका थिए । पाँचौं सेटसम्म चलेको उक्त फाइनल पनि ऐतिहासिक प्रतिस्पर्धा बनेको थियो ।

यद्यपि, आगामी सन् २०२० मा भने फेडेरर २१औँ मुख्य उपाधि जित्ने लक्ष्यमा छन् । त्यस्तै यस सिजन फ्रेन्च ओपनको फाइनलमा नाडलसँग पराजित भएका अस्ट्रियाका डोमिनिक थिम पनि चौथो स्थानमा पुगेका छन् । उनी सिजनको अन्तिम प्रतिस्पर्धा एटिपी फाइनलमा ग्रिसका स्टेफानोस सिटसिपाससँग पराजित भएका थिए । सिटसिपास पनि विश्व नम्बर ६ मा रहन सफल भए ।

उनीभन्दा अगाडि रसियाका डानियल मेदभेदेव छन् । पूर्व विश्व नम्बर एक ब्रिटेनका स्टार एन्डी मुरेले पनि विश्वको २ सय ४०औं वरीयतामा रहेर आगामी वर्षको सुरुआत गर्नेछन् । यद्यपि, उनले आगामी वर्ष सन्यास लिनसक्ने पनि अनुमान गरिँदै आएको छ । उनी पछिल्ला समय चोटका कारण बाहिर रहँदै आएका छन् ।

प्रतिक्रिया