षडानन्दको चर्चा

काठमाडौं । पूर्वी पहाडी जिल्ला भोजपुरको दिङ्लामा १९३२ सालमा विद्यालय स्थापना गरेर नेपालमा शिक्षाको जग बसालेका भन्दै आबाल ब्रह्मचारी षडानन्दको सम्झना गरिएको छ । पूर्वी पहाडी जिल्ला भोजपुरको दिङ्लामा १९३२ सालमा विद्यालय स्थापना गरेर नेपालमा शिक्षाको जग बसाउन उल्लेखनीय भूमिका खेलेका षडानन्दको स्मृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानले ‘राष्ट्रका लागि आबाल ब्रम्हचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठी आयोजना गरेका हुन् ।

कार्यक्रमका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आबाल ब्रम्हचारी षडानन्दको योगदान र विचारलाई नेपाली समाजमा लागू गर्न सकेमा समाजले गति लिन सक्ने धारणा व्यक्त गरे । उनले षडानन्दका सत्कर्म र योगदानबारे प्रज्ञा–प्रतिष्ठानले अध्ययन–अनुसन्धान गरी ग्रन्थ प्रकाशन गर्ने तयारी गरिरहेको जनाए । त्यस्तै, उपकुलपति डा. जगमान गुरुङले षडानन्दले बालेको ज्ञानको ज्योति निभेको हुनाले अब त्यो ज्योतिलाई पुनः बाल्नुपर्नेमा जोड दिए । उनले विज्ञानलाई पनि फेल गराउन सक्ने शक्ति अध्यात्म साधनामा हुने जिकिर गर्दै आफू षडानन्द सौर्यशक्तिको उपासक रहेको बताए ।

कार्यक्रममा प्रदेश एकका सांसद राजेन्द्र राई, षडानन्द नगरपालिका, भोजपुरका नगरप्रमुख वीरबल राई, आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतम, सचिव प्रा. लालानाथ सुवेदी र षडानन्द–सीताराम गुठी दिङ्लाका अध्यक्ष कृष्णप्रसाद पौडेलले षडानन्दका बारेमा चर्चा गरे । उनीहरूले षडानन्दले समाजलाई दिएको योगदान र आ–आफू आबद्ध संस्थाले गरेका कार्यहरूका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्कीले ‘नेपालको सामाजिक तथा शैक्षिक इतिहासमा षडानन्दको योगदान’ र यादव चापागाईंले ‘जनसहयोगको परिचालन र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गरे । प्रा.डा. कार्कीले धार्मिक तथा सांस्कृतिक क्रियाकलापमार्फत् समाजमा विद्यमान विकृति र विसंगति अन्त्यका लागि षडानन्दले गरेको पहलकदमीको निकै सराहनीय रहेको बताए । उनले भने, ‘षडानन्दले गुरुकुल शिक्षाको थालनी गरेर मुलुकको शैक्षिक अवस्थालाई सुधार्न अहम् भूमिका खेल्नुभयो । साथै संस्कृत पाठशालाको स्थापना आबाल ब्रम्हचारीले गर्नुभएको थियो तर अहिलेको पुस्ताले त्यसको संरक्षण गर्न सकेको छैन ।’

अर्का कार्यपत्र प्रस्तोता चापागाईंले कार्यपत्रमा जनसहभागिता र जनसहयोग लिई षडानन्दले गरेका महत्वपूर्ण कार्यलाई जगेर्ना गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा निर्मला पोखरेलले षडानन्द गुरुले समाजमा ज्ञानको ज्योति बालेर उज्यालोको आरम्भ गरेको बताइन् ।

आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, पुस्तकालय, विद्यालय, बगैँचा आदि कार्यहरू सुचारु रहून् र दीर्घकालसम्म तिनको संरक्षण होस् भनेर एउटा बृहत् गुठीको पनि स्थापना गरेको पाइन्छ । गुठीका नाममा लालमोहरसमेत गराएको देखिन्छ भने त्यसै समयमा लगभग एक हजारदेखि १२ सय मुरी अन्न उब्जनी हुने गुठीको व्यवस्था गरेको पाइन्छ ।

प्रतिक्रिया