अतिक्रमणविरुद्ध संयुक्त सांस्कृतिक अभियान

काठमाडौं । हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र समेटिएकोप्रति संस्कृतिकर्मीले विरोध जनाएका छन् । सार्वजनिक उक्त नक्सामा नेपाली भूमि समेटेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जनसांस्कृतिक महासंघ नेपाल, प्रतिपक्षी नेपाली कांग्रेसको नेपाल सांस्कृतिक संघ, संघीय समाजवादी फोरमको समाजवादी सांस्कृतिक महासंघ र जनमोर्चा नेपाल सम्बद्ध रक्तिम सांस्कृतिक अभियानले विरोध गरेका हुन् ।

सोमबार ‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ गठन गर्दै उनीहरूले अतिक्रमित नेपाली भूमि अभिलम्ब फिर्ता गर्न आग्रह गरेका छन् । संयुक्त विज्ञप्तिमा सार्वजनिक नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा ‘नेपाल र भारतबीचको सीमासम्बन्धी नक्सा नेपाल सरकारको सहमतिबिना भारत सरकारद्वारा एकपक्षीय रूपमा प्रकाशित गरिएकाले सो नक्सा खारेज गर्दै भारत सरकारको यसखाले हेपाहा प्रवृत्तिको हामी घोर भत्र्सना गर्दछौँ,’ उल्लेख छ ।

नेपाल र भारतबीचको भौगोलिक सीमा विवाद ६० स्थानभन्दा बढी क्षेत्रमा रहेको जनाउँदै उनीहरूले ती सबै क्षेत्रमा नेपालको भूमि भारतद्वारा मिचिएको जिकिर गरेको छन् । विज्ञप्तिमा नेपाल र भारतीय जनताबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्ध सयौँ वर्षदेखि सुमधुर र सद्भावयुक्त रहेको बताउँदै भनिएको छ, ‘यसखाले सद्भावपूर्ण सम्बन्धमा समेत भारतको मिचाहा प्रवृत्तिले खलल पु¥याइरहेको छ । हामी चाहन्छौँ नेपाल र भारतका जनताबीचको सुमधुर सम्बन्ध मात्रै होइन नेपाल सरकार र भारत सरकारबीचको सम्बन्धसमेत सुमधुर रही रहनुपर्छ । तर, यसका लागि हामी हाम्रो देशको भूगोललाई बन्धक राख्न वा बेच्न सक्दैनौँ ।’

अभियानले आफ्नो राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि जस्तोसुकै बलिदान गर्न तयार वीरहरूको देश नेपाल भएको उल्लेख नेपाल राष्ट्रको भौगोलिक अखण्डता र नेपाली जनताको सार्वभौम अधिकार रक्षाका लागि हामी सांस्कृतिककर्मीहरू देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली तथा भारतीय जनतालाई समेत हाम्रो राष्ट्रियताको अभियानमा ऐक्यबद्धता जनाउनका निम्ति अनुरोध गरेको छ । ‘राष्ट्रिय एकताका साथ नेपालको सम्पूर्ण भूगोल स्वतन्त्र नभएसम्म संयुक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । यस प्रतिबद्धतामा साथ दिँदै निरन्तर अभियानका लागि सम्पूर्ण देशभक्त संस्कृतिकर्मी तथा कलाकारहरूलाई हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

जनसांस्कृतिक महासंघ नेपालका संयोजक खगेन्द्र राईले अतिक्रमित नेपालको भूमि भारतले अभिलम्ब फिर्ता गर्नुपर्ने बताए । उनले मातृभूमिको रक्षार्थ सबै संस्कृतिकर्मी गोलबन्द हुँदै सांस्कृतिक जागरण ल्याउनुपर्नेमा जोड दिए । जनसांस्कृतिक महासंघ नेपालका सहसंयोजक सरल सहयात्रीले सीमा समस्या कुटनीतिक पहलद्वारा सरकारले हल गर्नुपर्ने बताए । त्यस्तै, नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले भूमि फिर्ता अभियानमा देशका सम्पूर्ण स्रष्टा एकजुट हुनुपर्ने धारणा राखे ।

रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रमले देशको सीमा अतिक्रमणविरुद्ध स्रष्टाले सचेत ढंगले अभियान चलाउनुपर्ने भनाइ राखे । उनले विविध सांस्कृतिक गतिविधिमार्फत भूमि रक्षाका लागि संस्कृतिकर्मीले खबरदारी गर्नुपर्ने जिकिर गरे । समाजवादी सांस्कृतिक महासंघका अध्यक्ष घनराज सुब्बाले राष्ट्रिय सीमा लुटिएका बेला सबै स्रष्टा एवं नागरिक एकजुट हुनपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया