मन्त्री फेर्न नेकपामा सकस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटगत विषय मिलाउन नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा समस्या देखिएको छ । केही मन्त्रीका विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनमा समस्या देखिएको हो । यद्यपी बिहीबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने गरी प्रधानमन्त्री ओलीले छलफललाई तीव्रता दिइरहेका छन् ।

नेताहरु निरन्तर छलफलमा रहेकाले चाँडै मन्त्रीका विषयमा टुंगो लाग्नेछ । मंगलबार बिहानसम्म सहमति जुटे मगंलबार नै नभए पनि बिहीबारसम्म पुनर्गठन गरिसक्ने तयारी 

पुनर्गठन गर्ने आधिकारिक सूचना पाएपछि मन्त्रीहरू भने आफ्नो पद बचाउन शक्तिकेन्द्र धाउन थालेका छन् । यसैगरी, नयाँ आकांक्षी पनि नेताका घर घरमा धाउने क्रम जारी रहेको स्रोतले जानकारी दिएको छ । विशेषगरी तत्कालीन माओवादीबाट मन्त्री बनेकाको नाममा अहिले समस्या देखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच केहीको नाममा सहमति जुटाउने प्रयास भइरहेको छ । प्रधानमन्त्री ओली खानेपानी मन्त्री बिना मगरलाई हटाउने तयारीमा छन् भने प्रचण्ड उनले यथावत राख्नुपर्ने पक्षमा देखिएका छन् ।

विशेषगरी, मेलम्चीको विषयलाई लिएर प्रधानमन्त्री ओली मगरसँग असन्तुष्ट रहेका छन् । पटक पटक प्रधानमन्त्रीकै मुखबाट उनले मेलम्चीको पानी काठमाडौं आउने मिति घोषणा गर्न लगाएका थिए । सोहीअनुरूप प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा समेत मिति नै घोषणा गरेका थिए । तर, यतिका सम्म बितिसक्दा पनि अझै कहिले आउने भनेर अनिश्चित रहेको छ । जसका कारण प्रधानमन्त्री ओली खानेपानीमन्त्री मगरसँग असन्तुष्ट रहेका छन् । प्रचण्डकी बुहारीसमेत रहेकी मगरलाई यथावत् राख्न प्रचण्डले कुरा राखेको स्रोतको भनाइ छ ।

अध्यक्ष प्रचण्डले मगरलाई यथावत् राखेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई हटाउनुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री ओलीले पार्टीभित्रको सन्तुलन मिलाउन तत्काल बादललाई हटाउने पक्षमा छैनन् । जसका कारण केही समयदेखि यो विवाद मिल्न सकेको छैन । दुवै नेता निरन्तर छलफलमा रहेकाले चाँडै समाधान निस्कने नेताहरू बताउँछन् । मंगलबार बिहानसम्म सहमति जुटे मगंलबार नै नभए पनि बिहीबारसम्म पुनर्गठन गरिसक्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

दुई अध्यक्षबीच पाँचजना मन्त्री हटाउने यसअघि नै सहमति भने भइसकेको छ । जसमा पूर्वएमालेबाट तीन र पूर्वमाओवादीबाट दुईजना रहेका छन् । अन्य मन्त्रीका विषयमा अहिले पनि छलफल जारी रहेको छ । नयाँ मन्त्रीका विषयमा पनि नेताहरूबीच विभिन्न तहमा छलफल चलिरहेको छ । यसक्रममा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान छलफल भएको छ । सोमबार बिहान प्रचण्ड र नेपालबीच खुमलटारमा दुई घन्टा लामो छलफल भएको थियो ।

भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ । दुई नेताबीच छलफल चलिरहँदा हालका भौतिक योजनामन्त्री रघुवीर महासेठसमेत पुगेको स्रोतले जानकारी दियो । उनी पनि हटाउनेको सूचीमा रहेको स्रोतको दाबी छ । सोमबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेरबारे आफूनिकट नेताहरूसँग लामो छलफल गरेका थिए ।

पुनर्गठनको कुरा उठेपछि हट्ने सूचीमा रहेका भनिएका मन्त्रीहरू भने त्रासमा देखिएका छन् । कुनै पनि मन्त्रीलाई अहिले आफ हट्ने वा नहट्ने सूचना पाएका छैनन् । जसका कारण मन्त्रीहरूमा अन्योलमा रहेका छन् । जसले गर्दा कर्मचारीमा समेत मन्त्रीलाई नटेर्ने समस्या बढ्न थालेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यद्यपि, मन्त्रीहरूले भने प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएकाले यसलाई नौलो मान्नुनपर्ने बताउने गरेका छन् ।

प्रतिक्रिया