२५ करोडको चलचित्रको कमाइ सय करोड

मुम्बई । बलिउड अभिनेता आयुष्मान खुराना अभिनीत चलचित्र ‘बाला’ को कमाइ एक सय करोड भारु नाघेको छ । बलिउडका ‘हिट मेसिन’ भनेर चिनिन थालेका अभिनेता खुरानाको उक्त चलचित्रको कमाइले निर्माण पक्ष निकै उत्साहित भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको कमाइले आयुस्मानदेखि निर्माता, निर्देशक तथा पूरै चलचित्र टिम निकै उत्साहित भएको जनाएका छन् ।

बलिउडका सुपरस्टार अभिनीत चलचित्रले समेत सय करोड भारु कटाउन नसकेको बेला २५ करोड भारुमा बनेको ‘बाला’ को कमाइ लोभलाग्दो गरी बढिरहेको छ । यो बजेट बलिउडका ‘सुपरस्टार’ को पारिश्रमिक आसपासको रकम पनि हो । चलचित्र टिम निकै उत्साहित नहुन् पनि किन, सय करोड भारु कमाउन बलिउडमा ‘सुपरस्टार’ हरूलाई समेत हम्मेहम्मे परिरहेको छ । महँगा चलचित्रले आफ्नो लगानी उठाउन निकै मुश्किल परेका बेला ‘बाला’ बक्सअफिसमा चम्किरहेको छ ।

अमर कौशिकले निर्देशन गरेको ‘बाला’ मा आयुष्मानका साथै यमी गौतम, भूमि पेडनेकर, सीमा पाहवा, जावेद जाफरी तथा सौरभ शुक्लाको मुख्य भूमिका छ । ‘बाला’ ले रिलिजकै दिन दस करोड भारु कमाइ गरेको थियो ।

चलचित्रमा २५ वर्षको उमेरबाट आफ्नो कपाल गुमाउन थालेको एक युवकको भोगाइको कथालाई प्रस्तुत गरेको छ । आयुस्मानले कम बजेटकै चलचित्र खेलेर बलिउडमा लगातार सात वटा फिल्म दिइसके । उनको यसअघिको प्रदर्शनमा आएको ‘अन्धाधुन’ ले भारतमा मात्रै नभई चीनमा समेत गरी चार सय करोड भारूभन्दा बढी कमाइसकेको छ ।

सन् २०१२ मा ‘विक्की डोनर’ मार्फत बलिउड छिरेका आयुस्मानले अहिलेसम्म १३ वटा चलचित्रमा काम गरिसके । यी सबै चलचित्र कम बजेटमा बनेका थिए । यीमध्ये उनी अभिनीत नौ ओटा चलचित्रले राम्रो कमाई गर्न सफल भएका छन् । सन् २०१७ यता त उनले काम गरेको सबै चलचित्रले एक सय करोडभन्दा माथि कमाइ गरिसकेका छन् ।

अहिले प्रदर्शन भइरहेको ‘बाला’ को कमाइ अझै बढ्ने भारतीय चलचित्र समीक्षकले बताएका छन् । यसैबीच आयुष्मान आफ्नो नयाँ चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ को तयारीमा जुटेका छन् । यस चलचित्रमा उनले समलिंगीको भूमिका निर्वाह गर्दैछन् । त्यसअघि उनी बलिउड चर्चित अमिताभ बच्चनसँगै ‘गुलाबो सिताबो’ मा देखिने जनाइएको छ ।

प्रतिक्रिया