जात्रामा जाँदा पत्रकारले देखेको कालापानी

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्रमा रहेको गुन्जी गाउँमा सन् २०१४ को जुलाईको अन्तिम साता एउटा सांस्कृतिक मेला (जात्रा) आयोजना भएको थियो । रंग महोत्सव उक्त मेलाको ब्यानरमा रं महोत्सव लेखिएको थियो । उक्त मेलामा महाकाली नदीवारि नेपाल र पारि भारतमा बसोवास गर्ने शौका समुदायका मानिसहरू सहभागी हुने गर्दछन् ।

शाैका समुदायले रंग महोत्सवलाई एक आपसमा हुने भेटघाटको अवसरका रूपमा लिने गर्दछन् । हरेक दुई वर्षमा एक पटक उक्त मेलाको आयोजना गर्ने गरिन्छ । त्यस प्रकारको मेला शौका समुदायको बसोवास भएका विभिन्न स्थानमा आयोजित हुने गरेको स्थानीयले जानकारी दिए । मेला लाग्ने स्थानमा त्यस क्षेत्रमा बसोवास गर्ने र पायक पर्ने शौका समुदायका मानिसहरू भेला हुन्छन्, उनीहरू नाचगान गरी एक आपसमा रमाइलो गर्छन् । प्रायः यो मेला भारततर्फ रहेका शौका समुदायका मानिसहरूले नै गर्दै आएका छन् ।

दुई भिन्न देशका नागरिक भए पनि शौका समुदायको रहनसहन तथा रीतिरिवाज भने एक प्रकारको छ । वारिपारि बसोवास गर्ने समुदायबीच वैवाहिक सम्बन्ध समेत चल्दै आएको छ । भारतले अतिक्रमण गरेको भूभागमा बसोवास गर्ने शौका र नेपाली भूमिमा बसोवास गर्ने शौकाबीच त अझ प्रगाढ सम्बन्ध रहेको पाइयो ।

गुन्जीभन्दा पूर्वोत्तर झन्डै नौ किलोमिटर टाढाको क्षेत्रमा कालापानी पर्छ, त्यहाँ पनि भारतीय सुरक्षाकर्मीहरू तैनाथ छन् । कालापानीबाट करिब २७ किलोमिटरपर लिपुलेक छ । भारतले त्यस क्षेत्र हुँदैे तिब्बतसम्म पुग्ने सडक बनाउँदै छ । जुन स्थानका कारण अहिले निकै चर्चा छ

म आफैँ पनि शौका समुदायकी सदस्य भएकाले दार्चुला सदरमुकाम खलङ्गामा बसोवास गर्ने मैले पनि सन् २०१४ को जुलाई २७ र २८ मा उक्त मेलामा सहभागी हुने निर्णय गरेँ । त्यस वर्षको मेलामा जाने निर्णय गर्न मलाई प्रेरीत गर्नुको कारण थियो, ‘भारतले मिचेको नेपाली भूमिमा जान पाइन्छ भनेर पनि थियो’ त्यसैले पनि म त्यहाँ जान उत्सुक थिए ।

मैले यसअघि कालापानी र लिपुलेकबारे धेरै सुनेकी र समाचार पढेकी थिएँ । तर प्रत्यक्ष रूपमा त्यस क्षेत्रमा जान पाएकी थिइनँ । गुन्जी जाने निर्णय गरेपछि हामी खलंगाबाट त्यसतर्फ लाग्यौँ । दुईतीन घण्टा गाडीबाट यात्रा गरेपछि गुन्जीसम्म पुग्न पैदल यात्रा गर्नुपर्ने भएकाले हामीले त्यसैअनुसार तयारी गरेर यात्रा सुरु गरेका थियौँ ।

खलंगाबाट यात्रा सुरु गरेको दिन हामी भारतको बुदी गाउँको छाङ्कांग्रे भन्ने ठाउँमा पुगेर वास बस्यौँ । दोस्रो दिनको यात्रा छाङ्कागे्रबाट सुरु भयो । त्यहाँबाट अघि बढ्ने क्रममा पुगियो बुदी गाउँ । बुदीबाट तीन किलोमिटर पैदल हिँडेपछि हामी भारतको छियालेक भन्ने स्थानमा पुग्यौँ ।

अनुमति लिनुपर्ने क्षेत्रः त्यहीँबाट सुरु हुने रहेछ भारतको ‘नोटिफाइड एरिया’ अर्थात् निषेधित क्षेत्र । त्यस क्षेत्रमा नेपालीले मात्र होइन, भारतीय नागरिकले पनि अनुमतिपत्र लिएर मात्र प्रवेश पाउदाँ रहेछन् । नेपाली नागरिकले त्यस क्षेत्रबाट अघि बढ्नका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र भारतीय पक्षबाट अनुमतिपत्र पाइने रहेछन् ।

हामीले पहिले नै जिल्ला प्रशासन कार्यालयबाट सिफारिसपत्र लिएको र रंग महोत्सवमा जान लागेकाले भारतीय अनुमतिपत्र लिन खासै सकस भएन । तर, धेरै नेपालीहरूले यस्तो अनुमतिपत्र लिन पनि विभिन्न अड्चन बेहोर्नुपर्दो रहेछ । अनेक झनझट दिँदा रहेछन् त्यहाँ खटिएका भारतीय सुरक्षा कर्मीले । जिल्ला प्रशासन कार्यालयको सिफारिस भएपछि भारतीय कर्मचारीहरूले ‘सब–डिभिजनल मेजिस्ट्रेट’को हस्ताक्षरयुक्त एउटा अनुमतिपत्र जारी गर्ने रहेछन् ।

उनीहरूको हस्ताक्षर भएको अनुमतिपत्रबिना त्यस क्षेत्रमा प्रवेश गर्न नपाइने रहेछ । यस्तो अनुमतिपत्रका आधारमा बहुयात्रा अर्थात् छ महिनाका लागि पटकपटक यात्रा गर्ने अनुमति प्राप्त हुने रहेछ । हाम्रो लागि पनि सोही प्रावधान लागू थियो । सो अनुमतिपत्र बोकेर हामी गुन्जीतर्फ लागेका थियौँ ।

खानतलासीः छियालेक, गब्र्याङ आदि गाउँदेखि कालापानी र लिपुलेकसम्म त्यस क्षेत्रका विभिन्न स्थानमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र इन्डो–टिबेटन बोर्डर पुलिस (आइिटिबिपी) को बाक्लो उपस्थिति थियो । यात्राका क्रममा विभिन्न स्थानमा भारतीय सुरक्षाकर्मीले हाम्रो खानतलासीको गरे । उनीहरू मेलामा जानेको समेत झोला खानतलासी गर्दे थिए ।

भारतीय सुरक्षा निकायबाट पाएको अनुमतिपत्र देखाउँदै हामी गब्र्याङ पुग्यौँ । त्यहाँबाट चार किलोमिटरजति हिँडेपछि हाल व्यास गाउँपालिका वडा नम्बर १ मा रहेको नेपाल–भारत जोड्ने सीतापुल पुगियो । त्यहाँ पनि भारततर्फका सुरक्षा निकायका आइटिबिपीले सुरक्षा दिइरहेको थिए । नेपालतर्फ भने पुलको छेउमा सुरक्षकर्मी देखिएनन् । नेपाली सुरक्षाकर्मीहरू उक्त पुलबाट एक किलोमिटर परतिर बसेका थिए ।

उक्त क्षेत्रबाट अघि बढेर हामी नपल्चु गाउँ पुग्यौँ । सोही गाउँबाट पारि पर्छ गुन्जी । गुन्जी भारतले अतिक्रण गरेको कालापनी क्षेत्रमै पर्दछ । जहाँ लामो समयदेखि भारतीय सुरक्षा फौज तैनाथ भएर बसेका छन् । उक्त कालापानी क्षेत्रमा नेपाली नागरिकहरूलाई भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएका छन् । जहाँ जान नेपाली नागरिकका लागि अनुमति छैन ।

भाषाका कारण सजिलै प्रवेशः सामान्य अवस्थामा नेपाली नागरिकलाई उक्त क्षेत्रमा प्रवेश गर्न सजिलो छैन । त्यहाँ रहेको भारतीय सेनाले नेपाली नागरिकलाई कालापानी क्षेत्रमा जान दिँदैनन् । तर, मैले भने उक्त क्षेत्रमा पुग्दा खासै अफ्ठ्यारो महसुस गरिनँ । सम्भवतः उक्त क्षेत्रमा बसोवास गर्ने शौका समुदायको सदस्य भएको र हाम्रो भाषा मिल्ने भएका कारणले पनि होला मलाई त्यहाँ जान रोकिएन ।

रंग महोत्सवको अवलोकन तथा नयाँ ठाउँ घुम्दै जादाँ अलि पर मनेला भन्ने ठाउँमा मेलाको आयोजना गरिएको थियो । उक्त ठाउँनजिकै भारतीय सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन्थ्यो ।

गुन्जीभन्दा पूर्वोत्तर झन्डै नौ किलोमिटर टाढाको क्षेत्रमा कालापानी पर्छ, त्यहाँ पनि भारतीय सुरक्षाकर्मीहरू तैनाथ छन् । कालापानीबाट करिब २७ किलोमिटरपर लिपुलेक छ । भारतले त्यस क्षेत्र हुँदैे तिब्बतसम्म पुग्ने सडक बनाउँदै छ । जुन स्थानका कारण अहिले निकै चर्चा छ । अहिले लिपुलेकका बारेमा बढी भए पनि कालापानीमा भारतीय सेना रहेका विषय वेला वेला चर्चा हुँदै सेलाउने गरेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापनी र लिपुलेक क्षेत्रमा पर्ने गुन्जी, नाबी र कुती गाउँमा शौका समुदायको बसोवास रहेको छ । वरिष्ठ पत्रकार भैरव रिसालले आफूले जनगणना गरेको भन्ने गरेको त्यही क्षेत्र हो । रिसालले अहिले पनि त्यो भू–भाग नेपालको रहेको र आफूलो वर्षो पहिला त्यहाँ गएर जनगणना गरेको भन्दै आएका छन् । रिसाल कालापानी र लिपुलेक नेपालको हो भन्ने एक दह्रो प्रमाण पनि हुन् ।

दुवैतर्फ शौका समुदायः त्यस्तै नेपालको व्यास गाउँपालिका वडा नम्बर १ मा रहेको टिङ्कर, छाङ्रूमा वासोवास गर्ने शौका समुदायको भाषा रहनसहन आदि सबै कुरामा समानता छ । त्यसैले पनि वारिपारि बस्ने सो समुदायका बीचमा बिहेवारीसमेत हुँदै आएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिमा बसोवास गर्ने शौका समुदायका बूढापाकाको नेपाली नागरिकता भेटिए पनि पछिल्लो समय भने सबैले भारतीय नागरिकता लिइसकेको बताइन्छ । उनीहरूले भारतीय नागरिता किन लिए भन्ने बारेमा कसैले चासो दिएको पाइँदैन । त्यस क्षेत्रमा नेपाली प्रशासन निकाय नहुनु र भारतीय पक्ष सक्रिए हुनु पनि उनीहरूको नागरिता फेरबदल हुनसक्छ । कालापानीको विषय वेलावेला बहसमा आउने गरेको छ । तर, त्यसको प्रत्यक्ष असर टिंकर र छाङ्रूमा बसोवास गर्ने शौका समुदायले भोग्नुपरेको छ ।

उनीहरूले सदरमुकाम आवतजावत गर्ने सहज बाटो नेपालतर्फबाट नहुँदा भारतकै बाटो प्रयोग गर्ने गर्छन् । जबजब कालापानी र लिपुलेकको कुरा आउँछ तबतब भारतीय सुरक्षाकर्मीले ब्यासवासीलाई आउँदाजाँदा दुःख दिने गरेको स्थानीयको गुनासो छ ।

तसर्थ यो कुराको बहस सुरु भएसँगै निकास आउने गरेर टुगिंयोस भन्ने स्थानीयहको आग्रह छ । यसलाई वेला वेलाको मौसमी विषय बनाइनु नहुने उनीहरूको धारणा रहेको छ । यसलाई दुइदेशको सहमतीमा सम्मान जनक रूपमा टुंगो लगाइनुपर्ने देखिन्छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया