‘राजनीतिज्ञले प्रविधिको प्रयोग गर्नुपर्छ’

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राजनीतिज्ञले जहिले पनि प्रविधि र सूचनाको प्रयोग गर्नुपर्ने बताएका छन् । इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा आइतबार वीरेन्द्रनगरमा सुरु भएको सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम विषयक कार्यशालालाई उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा गर्न प्रविधिको उच्च प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भने, ‘अहिलेको युग सूचना र प्रविधिको युग हो । यसको अधिकतम प्रयोग गर्नसके समाजलाई सजिलै रूपान्तरण गर्न सकिन्छ । त्यसैकारण हामीले कर्णालीलाई डिजिटल प्रदेश बनाउने सोच गरेका हौँ ।’

‘त्यसका लागि प्रविधिमैत्री बन्न जरुरी छ’, मन्त्री भण्डारीले भने । उनले विश्वलाई सूचना तथा प्रविधिले एक गाउँमा रूपान्तरण गरेको बताउँदै समाजलाई ड्राइभ गर्ने जनप्रतिनिधिले सूचना र प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने बताए । उनका अनुसार सूचना प्रविधिको आपूmले जति सदुपयोग गर्न सक्यो त्यति नै उपलब्धि हात पर्ने बताए । युएनडिपीको संसद् सहयोग परियोजनाले आयोजना गरेको दुईदिने कार्यशालामा कर्णाली प्रदेशसभाका १६ जना सदस्यको सहभागिता रहेको छ । सञ्चारविज्ञ लक्ष्मण दत्त पन्त तथा मल्टिमिडिया विज्ञ रजनिश भण्डारीले प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रममा सहभागी कर्णालीका सबै सांसदहरू प्रविधिको अधिकतम प्रयोग हुनुपर्नेमा जोड दिए । उनीहरूले सामाजिक संजाल पनि सदुपयोग गरेमा राम्रो चिज भएको जिकिर गरे । तर, अधिकांश सांसदहरु सामाजिक संजाल फेसबुकबाहेक अनभिज्ञ जस्तै छन् । कतिपय सांसद त प्रदेशसभा सांसद भइसकेपछि मात्र सामाजिक संजालमा जोडिएका छन् । कर्णालीमा मोबाइल नेटवर्कले समेत अधिकांश स्थानमा काम गर्दैन ।

प्रतिक्रिया