संस्थागत सुत्केरीका लागि सडक नाटक

मुगु । हिमाली जिल्ला मुगुका विभिन्न गाउँबस्तीमा सडक नाटकमार्फत संस्थागत सुत्केरी गराउन प्रेरितका लागि सडक नाटकमार्फत सचेतना फैलाउने क्रमले तीव्रता पाएको छ । गाउँ घरमा अझै पनि घरमै सुत्केरी हुने र अकालमा मुत्यु हुने क्रम नरोकिएकाले सुत्केरी आमालाई स्वास्थ्य संस्थामा सुत्केरी हुँदा हुने फाइदा र घरमै सुत्केरी हुँदा हुने पीडालगायत विषय समेटेर आमा नामक सडक नाटक प्रदर्शनले तीव्रता पाएको हो ।

कोइका र युनिसेफ नेपालको सहयोग कर्णाली सामुदायिक विकास केन्द्रको साझेदारी तथा कर्णाली थिएटर मुगुको आयोजनमा मुगु जिल्लाका सोरु गाउँपालिका, मुगुमकामरोङ गाउँपालिका तथा छायानाथ रारा नगरपालिकाका आठ÷आठ स्थानमा गरी २४ स्थानमा सन्देशमूलक सडक नाटक आमा प्रदर्शन गरिने साझेदार संस्था कर्णाली सामुदायिक विकास केन्द्रका संयोजक हरिबहादुर शाहीले जानकारी दिए । समुदायमा भएका गर्भवती महिलाहरूलाई संस्थागत सुत्केरी गराउन, गर्भवती भएको समय स्वास्थ्य जाँचका बारेमा जानकारी दिन, बच्चालाई लगाउने खोप र स्वास्थ्य संस्थावाट प्रवाह हुने सेवाका वारेमा र स्वास्थ्य संस्थावाट सेवा नलिँदा हुने बेफाइदाका बारेमा सडक नाटकमार्फत जानकारी गराईने छ ।

गाउँवस्तीमा घरमै सुत्केरी हुने कारण धेरैको अकालमा ज्यान जाने गर्दछ । यस्ता घटनाबाट स्थानीय नागरिक एवं सीमान्तकृत वर्ग लक्षित, गर्भवती महिला, एकल महिलालगायत सबै नागरिकलाई स्वास्थ्य संस्थामा गई सुत्करी गराउनुपर्छ । बच्चालाई खोप दिनुपर्छ र स्वास्थ्य सेवाबाट पाउने सेवा सुबिधाबाट वञ्चित हुनु हुँदैन भन्ने सन्देश नाटकमार्फत स्थानीयलाई जानकारी गराइएको र गाउँदै जाने लक्ष्यका साथ सडक नाटक प्रदर्शन गरिएको कर्णाली थिएटर मुगुले जनाएको छ ।

मुगुमा गर्भवती महिलाको घरमै सुत्केरी गराई धेरैको अकालमा ज्यान गएकाले यसको रोकथाम गर्न र सुरक्षित सुत्करी बारेमा नजिकैको स्वास्थ्य सस्थामा लिनुपर्छ भन्ने जानकारी होस् भन्ने उद्देश्यले नाटक प्रदर्शन आवश्यक देखिएकाले सडक नाटक ‘आमा’ गाउँगाउँमा प्रदर्शन गरी सडक नाटकमार्फत नै अभियान सञ्चालन गरिएको जनाइएको छ । सडक नाटक मुगुमकामारोङ गाउँपालिकाका विभिन्न बस्तीमा प्रदर्शनपछि सोरु गाउँपालिकातिर प्रदर्शनमा कलाकार गएका छन् ।

सडक नाटक हेर्न आएका मुगुमकामरोङ गाउँपालिका–८ का छिरिङ लामाले घरमै सुत्करी हुँदा हुने बेफाइदाका बारेमा बुझ्न पाएका थिएनौँ भन्दै नाटकबाट धेरै जान्न बुझ्न पाएको बताएका छन् । यस्ता कार्यक्रम सडक नाटकमार्फत बेलाबखत हुने गरेमा समाज रूपान्तरण हुने र नबुझेका स्थानीयलाई बुझ्न र जानकारी पाउन सजिलो हुने लामाको भनाइ छ ।

प्रतिक्रिया