मेडिकल कलेजमा विभागको छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले तीनओटा मेडिकल कलेजमा आइतबार बिहान छापा मारेको छ । सरकारले विद्यार्थीसँग चर्को शुल्क लिएको भन्दै फिर्ता गर्न आग्रह गरिरहेका वेला विभागले राजधानी बाहिरका तीनओटा कलेजमा छापा मारेको हो ।

विभागले विराटनगरस्थित नोबेल मेडिकल कलेज, वीरगञ्जस्थित नेसलन मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले देशभरका निजी मेडिकल कलेजका सञ्चालक र उच्च तहका कर्मचारीहरूका तीन पुस्ते नातेदारको सम्पत्ति छानबिन थालेको छ । त्यसका लागि अनुसन्धान अधिकृतहरू तोकेर छानबिन भइरहेको छ ।

छानबिनका क्रममा नोबेल, नेसनल र चितवन मेडिकल कलेजले विवरण लुकाएकाले विशेष टोली पठाएर कागजात जफत गर्नुपरेको विभाग स्रोतले जनाएको छ । ती कलेजबाट केही कागजपत्र विभागले आफ्नो नियन्त्रणमा लिएको छ । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थीहरू आन्दोलित भइरहेका वेला विभागले पनि सक्रियता देखाएको हो । सम्पत्तिको आयस्रोत र लगानीका विषयमा विभागले अनुसन्धान गर्न सक्ने कानुनी अधिकार रहेको छ ।

विभागले शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानबिन थालिसकेको छ । सम्पत्ति छानबिनका क्रममा मेडिकल कलेजहरूमा छापा मारिएको विभाग स्रोतले जनाएको छ । सरकारले अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिए पनि मेडिकल कलेजहरूले अटेर गरेपछि विद्यार्थीहरू निरन्तर आन्दोलित छन् ।

शिक्षा मन्त्रालयले पछिल्लो पटक गत साता विद्यार्थीबाट लिएको बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनी दिइसकेको छ । मन्त्रालयले विद्यार्थी र अभिभावकसँग बढी शुल्क लिएको विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पनि आह्वान गरिसकेको छ । विभागको तीन ओटा छुट्टा छुट्टै टोली तीन ओटा कलेजमा एकै समयमा छापा मारेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार नै राजधानीमा आयोजित एक कार्यक्रममा मेडिकल कलेजले बढी रकम लिएकोमा असन्तुष्टि पोखेका थिए । उनले विद्यार्थीबाट ठगी गरेको रकम सरकारले फिर्ता गराएरै छाड्ने जानकारी पनि गराए । ‘अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा कलेजहरूले फिर्ता गर्नुपर्छ । पहिलेका सरकारलाई झुक्याएजस्तो यो सरकारलाई चल्दैन । गोप्य ढंगले लिनु त्यो ठगी हो, त्यो फिर्ता हुनैपर्छ,’ प्रधानमन्त्री ओलीले भने । उनले भर्खरै खुलेका मेडिकल कलेज सञ्चालकहरूले समेत अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिइने पनि स्पष्ट पारे ।

वीरगञ्जको नेसनल मेडिकल कलेजमा शुल्क फिर्ता गर्न माग गर्दै आन्दोलन गरेपछि कलेज प्रशासनले आफूहरूलाई बन्धक बनाएको र गुन्डागर्दी शैलीमा धम्काएको भन्दै उपत्यका बाहिरका मेडिकल कलेजका विद्यार्थीहरू केही समयअघि काठमाडौं आएर आन्दोलन गरेका थिए । मेडिकल कलेजका विद्यार्थीहरू चिकित्सा शिक्षा संघर्ष समितिसमेत गठन गरेर आन्दोलनमा होमिएका छन् ।

प्रतिक्रिया