‘कालापानीबाट आफ्ना सेना फिर्ता लैजाऊ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई कालापानी क्षेत्रबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन् । उनले नेपाल छिमेकी मुलुकहरूसँग सदैव शान्ति चाहाने भएकाले भारतले आपूmहरूको भूमिबाट सेना फिर्ता लैजानुपर्ने बताएका हुन् ।

नेपालको भूमि कालापानीमा भारतले लामो समयदेखि आफ्नो सेना राख्दै आएको छ । यद्यपी उसले सो भूमि आफ्नो भएको दाबी गरिरहेपछि नेपालमा त्यसको चर्को विरोध र आलोचना भइरहेको छ । पछिल्लो पटक विवादको शिखरमा आएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट सो कुरा बताएका हुन् ।

यो सरकारले एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै उनले नेपाली भूमिबाट विदेशी सेना फिर्ता हुनुपर्ने बताएका हुन् । सत्तारूढ नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको भेलाको काठमाडौंमा उद्घाटन गर्दै देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रस्ट पारे । प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सिमाना रक्षा गर्न सक्षम रहेको बताए ।

हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले सेना फिर्ता लैजाऊन् । हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस्, हाम्रो आग्रह छ । अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने, त्यस्तो सरकार होइन । इतिहासले देखाइसकेको छ, राष्ट्रिय हितका पक्षमा अड्न सक्छ, लड्न सक्छ 

कतिपयले नक्सा सच्याउन भनेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने स्पष्ट पारे । ‘यस सरकारले आफ्नो भूमि एक इन्च पनि मिच्न दिँदैन । आफ्नो भूमि अरू कसैलाई दिँदैन । हामी नेपालीहरूलाई अरूको जमिन अतिक्रमण गर्नुछैन । हामी अरूको कुरामा लोभिदैनौँ’, उनले भने, ‘हामीलाई अरूको जमिन चाहिएन । तर, हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले सेना फिर्ता लैजाऊन् । हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस्, हाम्रो आग्रह छ ।’

मुलुकको सिमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजुट भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीले बताए । अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवाद समेत दिए । संसारसामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरूलाई पनि आफ्नो जमिन मिच्न नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनु भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘हामी नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौँ ।’ केही दिन अघि संसदीय समितिले नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिएका हुन् । उनले नक्सा भन्ने कुरा छापामा जसले छापेपनि हुने कुरा भएको बताउँदै मुख्य विषय भने अतिक्रमित भूमि फिर्ता ल्याउनु रहेको उल्लेख गरे ।

दशकौँ अघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ती देखाउने नाममा उच्छृंखल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘तर, आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उच्छृंखल गतिविधि अनुचित छन् । हामी कूटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौँ ।’

प्रधानमन्त्री ओलीले सीमा विवादको विषय संवादबाट समधान गर्न चाहेको पनि स्पष्ट पारेका छन् । उनले छिमेकीहरूसँग किञ्चित तनाव नहोस् भन्ने पक्षमा आपूmहरू रहेको बताए । ‘संवादको माध्यमबाट समस्या समधान गर्न चाहान्छौँ । हामीलाई विश्वास छ, संवादबाट समस्याको समाधान हुन्छ’, प्रधानमन्त्री ओलीले अगाडि भने, ‘अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने, त्यस्तो सरकार होइन । इतिहासले देखाइसकेको छ, राष्ट्रिय हितका पक्षमा अड्न सक्छ, लड्न सक्छ ।’

प्रधानमन्त्री ओलीले संक्रमणकाल अन्त्य गरी कानुनी पूर्वाधार समेत बनाउन समय खर्च गरे पनि सरकारले विकासको नयाँ जग बसालेको बताए । ‘कानुनी पूर्वाधार बनाउन हामीले धेरै समय लगाउनु परे पनि आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पु¥याउन सफल भएका छौँ, आयात घटाउँदै निर्यात बढाएर व्यापार घाटा कम गर्दै लगेका छौँ’ प्रधानमन्त्री ओलीले भने, ‘उत्पाद वृद्धि र पूर्वाधार विकासमा हामी तीव्र गतिका साथ अघि बढेका छौँ ।’

प्रधानमन्त्री ओलीले वैचारिक पूर्वाग्रह र आफूले व्यक्तिगतरूपमा केही नपाएको गुनासो जस्ता दुई कारणले मात्रै सरकारको विरोध भएको प्रधानमन्त्री ओलीको विश्लेषण थियो । ‘सरकारले राम्रै गरे पनि कम्युनिस्ट सरकार छ कसरी राम्रो भयो भन्नू भन्ने हिसाबले एकथरीले आइडियोलोजिकल विरोध गरिरहेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘अर्काेथरी सबै कुरा राम्रो हुँदै गए पनि मैले त केही पाइनँ नि भनेर पनि विरोध भइरहेको छ ।’ उनले तथ्यमा आधारित विरोधले मात्र कमजोरीहरू सुधार्न सहयोग पुग्ने बताए । प्रधानमन्त्री ओलीले समाजवाद र पूँजीवादका चारित्रिक विशेषताबारे जानकारी दिँदै सोचाइमा सकारात्मकता, सिर्जनात्मकता र काममा रचनात्मकता अपनाउन युवा संघका कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया