थाईल्यान्डकी पोर्नतिप र कोरियाकी युन उपाधि निकट

काठमाडौं । थाईल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र कोरियाकी गा युन पार्क योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ को महिला एकलमा उपाधि निकट पुगेका छन् । शनिबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको सेमिफाइनलमा पोर्नतिपले जापानकी रिको गुञ्जीलाई २१–१७, २१–१५ ले पराजित गर्दै उपाधि निकट पुगेकी हुन् । अब पोर्नतिपले उपाधिका लागि कोरियाकी गा युन पार्कसँग प्रतिस्पर्धा गर्नेछिन् । गा युनले जापानकी अकारी नाकाशिजुलाई २१–१८, २१–१९ ले पन्छाउँदै फाइनल प्रवेश गरेकी हुन् ।

पुरुष एकलमा भने भियतनामका काव सुओङ फाम भारतका सिरिल बर्मालाई २१–११, २१–१६ ले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । फाम प्रतियोगितामा छैटौँ स्थानमा र बर्मा ७ औँ स्थान प्राप्त खेलाडी हुन् । अर्को खेलमा प्रतियोगितामा आठौँ स्थानका अदुलराच नामकुल पाँचाँै स्थानका क्यानडाका झिआउदोङ सेङलाई २१–१४, २१–१९ ले पन्छाउँदै फाइनलमा फामसंगको भिडन्त पक्का गरेका हुने । महिला युगल तर्फ अस्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले तथा भारतका मनिषा के. र रुतापर्ना पान्डाको जोडी उपाधिका लागि भिड्ने भएका छन् ।
प्रतियोगितामा पहिलो स्थान पाएका सेताना र ग्रोन्याको जोडीले थाईल्यान्डका रुईथाईचानोक लैसुवान र सुपामार्त मिङचुवाको जोडीलाई १८–२१, २१–१६, २१–१३ ले तथा चौथो स्थानका मनिषा र रुतापर्नाको जोडीले थाईल्यान्डकै चासिनी कोरेपाप र क्वान्छानोक सुजाईप्प्रापरतको जोडीलाई १७–२१, २३–२१, २१–१७ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । पुरुष युगलतर्फ भने भारतका खेलाडीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

पहिलो सेमिफाइनलमा भारतका अत्री मनु र रेड्डी बि. सुमिथ को जोडीले कोरियाका किम दोक्योङ र किम सा राङलाई १८–२१, २१–१९, २१–१९ ले तथा भारतकै एमआर अर्जुन र ध्रुव कपिलाको जोडीले कोरियाका ना सुङ सिउङ र वाङ चानको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै फाइनल यात्र तय गरेका हुन् ।

मिक्स युगल तर्फ थाईल्यान्डका सुर्पाक जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडी कोरियाका ना सुङ सिउङ र किम मिन जीको जोडीलाई २५–२३, २१–१०ले पराजित गर्दै फाइनल प्रवेश गरे । फाइनल प्रवेश गर्ने अर्को जोडीमा कोरियाका किम सा राङ र किम हा नाको जोडी रहे ।
राङ र नाको जोडीले भारतका रेड्डी बि. सुमिथ र कुहो गार्गको जोडीलाई १५–२१, २२–२०, २१–१७ ले पराजित गरे । प्रतियोगिताको फाइनल खेल आईतबार हुने र प्रत्येक खेलको अन्त्यपश्चात पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजक नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया