‘वीरेन्द्रनगर अब कर्णालीको नमूना’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई नमूना सहर बनाउन कर्णाली प्रदेश सरकारले पहल गरिरहेको बताएका छन् । शनिबार एक वचत तथा ऋण सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । उनले सिंगो प्रदेशको प्रतिबिम्ब राजधानी सहरले दिने भएकाले वीरेन्द्रनगरलाई नमूना सहरको रूपमा विकास गर्नुपर्ने बताए ।

उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अव्यवस्थित रूपमा भईरहेको जग्गाको खण्डीकरण र संरचना निर्माण कार्यलाई रोक्नुपर्ने बताउँदै स्वच्छ, सफा र प्रदूषणरहित सहर निर्माणका लागि नागरिकको पनि उत्तरदायित्व रहेको बताए । साथै उनले जथाभावी फोहर फाल्ने वानीको अन्त गर्नुपर्ने बताए ।

‘सडक, खानेपानी, विद्युत्, सरसफाई तथा अन्य पुर्वाधार विकासका लागि दीर्घकालीन सोच सहित नयाँ गुरुयोजनाको आवश्यक रहेको छ ।’ उनले भने, ‘वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या सामाधान गर्न प्रदेश सरकारले ५० करोड वजेट विनियोजन गरेको छ ।’ उनले खानेपानी आपूर्तिको दीर्घकालीन सामाधान नहुँदासम्म विभिन्न उपायहरूको खोजी गरेर पनि तत्कालीन समस्या सामाधान गरिने बताए ।

मुख्यमन्त्री शाहीले पछिल्लोपटकको चीन भ्रमणका क्रममा वीरेन्द्रनगरको व्यवस्थित सहरीकरण र चक्रपथ निर्माणका लािग आपूmले गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिए ।

प्रतिक्रिया