लोभमा नफसेका पौडेललाई जिताएर हेर्नुस्ः नेता सिटौला

कास्की । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संवैधानिक व्यवस्था मास्नमा वर्तमान सरकार उद्धत भएको आरोप लगाएका छन् ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–११ मा आज आयोजित घरदैलो एवं कोणसभामा उनले सरकार संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्दै लोकतान्त्रिक विधि र प्रक्रियालाई लत्याउने कार्यमा लागेको आरोप लगाएका हुन् ।

नेता सिटौलाले संविधानको मर्म र भावना एकातिर सरकार अर्कैतिर भएको बताउँदै सरकारलाई सही बाटोमा हिँडाउनका लागि पनि यो निर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे । जीवनभर कुनै लोभ मोहमा नफसेका नेता खेमराज पौडेललाई एकपटक जिताएर हेर्न उनले मतदातालाई आग्रह गरे ।

कांग्रेस नेत्री एवं सांसद डा. डीला सङ्ग्रौलाले धर्मसंस्कृति मुलुकको पहिचान भएको बताउँदै उक्त पहिचान कुल्चेर हिँड्नेलाई जनताले बेलैमा चिन्नुपर्ने आवश्यकता औँल्याइन् । मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर बन्दै गएको बताउँदै उनले लोकतन्त्रको रक्षाका लागि यो चुनावमा कांग्रेसले जित्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया