गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र

गुल्मी । रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उनी आफैँ जोहो गर्छिन । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र । हुन त केन्द्रले आफैँ उहाँलाई रकम दिने पनि होइन, तर केन्द्रमा काम गरेवापत उनले घर खर्च चलाउने रकम प्राप्त गर्छिन । कफी अनुसन्धान केन्द्रमा रहेका कफीका बिरुवामा मलपानी राख्ने, बिरुवा वरपरका झारपात गोड्ने उनको दैनिक काम हो । सोही काम गरेबापत उनले आफ्नो दैनिकि चलाउदैँ आएकी छन ।

सोही स्थानकी मिठु क्षेत्रीले पनि कफी अनुसन्धान केन्द्रमा कफीका बोटबिरुवामा पानी राख्ने, जङ्गलको झार तथा घाँस काट्ने र सफा बनाउने, नर्सरी व्यवस्थापन, मल बीउको व्यवस्थापन, सिँचाइजस्ता काम गर्न थालेको तीन वर्ष भयो । श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन, तर आफूसहित छोरी र दुई छोराको आर्थिक खर्च उहाँ आफैँले व्यवस्थापन गरकी छन । सामान्य रकमको आवश्यकता पर्दा कसैसँग हात जोड्नु नपर्ने, आफ्नै छोराछोरीसँग बसेर काम गर्न पाइने, महिला समूहहरूमा बचत गर्दा पैसाको समस्या नपर्नेजस्ता कार्यमा सहयोग पुग्ने हुँदा उनी केन्द्रमै काम गरिरहेकी छन ।

कफी अनुसन्धान केन्द्रमा फूलखेती
कफी अनुसन्धान केन्द्रमा फूलखेती पनि हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, बलेटक्सारमा रहेको कफी केन्द्रमा बनाइएको बगैँचामा फूलखेती समेत हुने गर्दछ । फूलखेतीकै लागि एक महिला कामदार केन्द्रले नियुक्त गरेको छ । बगैँचामा अहिले सयपत्री, थुङ्गेलगायतका झण्डै आधा दर्जन प्रकारका फूल छन् ।

‘यसपालिको तिहारमा मात्रै १४ हजारको फूल बिक्री भयो, बाँकी बीउका लागि राखिएको छ ।’ विगत पाँच वर्षदेखि केन्द्रको बगैँचामा काम गर्दै आएकी ४० वर्षीया कमला गौतमले भनिन, ‘गाउँमै फूल स्याहार्ने काम पाउँदा खुशी लागेको छ ।’

महिला–पुरुषलाई समान ज्याला
हाम्रो समाजमा अझै पनि महिला र पुरुषलाई कामको ज्यालामा विभेद गर्ने गरिन्छ । तर, बलेटक्सारको कफी अनुसन्धान केन्द्रमा काम गर्ने श्रमिकको पारिश्रमिक समान कायम गरिएको छ । समान प्रकृतिको काम गर्ने श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम दैनिक ज्याला ५१७ रुपैयाँ प्रदान गरिन्छ । जसले गर्दा महिलालाई पनि हौसला मिलेको छ ।

वार्षिक २७ लाख बुझ्छन्, कामदार
कफीको उद्गमस्थल गुल्मीमा कफीको अनुसन्धान गर्ने उद्देश्यले विसं २०७१ मा राष्ट्रिय कफी अनुसन्धान केन्द्र स्थापना भयो । केन्द्रले कफीको अनुसन्धान मात्र गरेन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना ग¥यो । कार्यालयमा काम गर्ने सात कर्मचारी छन् । तर, स्थानीय कामदार भने त्यो भन्दा तेब्बर सङ्ख्यामा छन् ।

केन्द्र स्थापना भएदेखि नै स्थानीय कामदार नियुक्त गरिएको थियो । प्रत्येक कामदारको दैनिक ज्याला न्यूनतम ५१७ तोकिएको छ । तर, सामान्यबाहेकका अन्य सीपमूलक काममा भने त्यो भन्दा बढी पनि ज्याला प्रदान गरिएको कार्यालयले जनाएको छ । केन्द्रमा अहिले २२ नियमित कामदार छन् । तीमध्ये अधिकांश पाँच वर्षदेखि नै मजदूरीको काम गर्दै आएका छन् भने कतिले दुई वर्षदेखि काम गर्दै आएका छन् । केन्द्रमा बढीमा ४० जनासम्मलाई मौसमी रोजगारी कार्यालयले दिने गरेको कार्यालयका संयोजक कृष्णबहादुर थापाले जानकारी दिए ।

शुक्रबार र शनिबार बिदा हुने तथा अन्य दिन पनि कोही कामदार नआउने हुँदा एक जनाको मासिक ज्याला बढीमा १२ हजारसम्म हुने गरेको उनले बताए । त्यसरी कार्यालयमा काम गरेवापत स्थानीय मजदूरले वार्षिक २२ देखि २७ लाखसम्म लैजाने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । नियुक्त गरिएका कामदारको रकम नेपाल सरकारले नै उपलब्ध गराउने कार्यालय प्रमुख थापाले बताए ।

प्रतिक्रिया